२०८२ बैशाख ७ गते सोमवार

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दो



२३ साउन,दाङ /लुम्बिनी प्रदेश सरकारले बिरामीलाई स्वास्थ्य उपचारमा छुटको योजना कार्यान्वयनमा ल्याएपछि राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि छुट योजना कार्यान्वयनमा आएपछि बिरामीको चाप बढेको हो ।

राप्ती प्रादेशिक अस्पतालमा साउन १ गतेदेखि १५ गतेसम्म ५ हजार १ सय ८१ जनाले उपचार सेवा लिएका छन् । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका प्रादेशिक अस्पतालमा नाम दर्ता, जनरल बेड र रगत निःशुल्क गराएको छ ।

प्रदेश सरकारको छुटको योजना तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पनि साउन १ गतेदेखि कार्यान्वयन भएपछि बिरामी बढेको अस्पतालका सूचना अधिकारी भूषण सुवेदीले बताउनुभयो ।

बितेको आर्थिक वर्षमा राप्ती प्रादेशिक अस्पतालमा ७४ हजार ९ सय १९ जनाले सेवा लिएका छन् । जुन औषतमा दैनिक २ सय ५ जनाले उपचार सेवा लिएको देखिएको छ । प्रादेशिक अस्पतालमा चालु वर्षको सुरूवातको तुलनामा गत आर्थिक वर्षमा दैनिक १५० बढी बिरामीले सेवा लिएको देखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार