२०८३ असोज २० गते बुधवार

जनताका समस्या बुझ्न निर्वाचन क्षेत्रमै पुग्दै सांसद सुवेदी



तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदीले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सुवेदीले निर्वाचन क्षेत्रका नागरिकका समस्या तथा गुनासो प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले घरदैलोमै पुगेर समस्या बुझ्न थाल्नुभएको हो ।

सोही क्रममा मंगलबार सांसद सुवेदीले पश्चिम दाङका तीन पालिका बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयका समस्या तथा गुनासो सुन्नुभएको छ । उहाँले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै विकास निर्माण, पूर्वाधार तथा अन्य स्थानीय समस्याबारे जानकारी लिनुभएको हो ।

यसैगरी, उहाँले तुलसीपुर उपमहानगरपालिका–१३ स्थित रसुवा बाढी प्रभावित क्षेत्रका पीडित परिवारसँग पनि भेटघाट गर्नुभएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको घरमै पुगेर उहाँले अवस्थाबारे जानकारी लिनुका साथै पीडित परिवारलाई सान्त्वना दिनुभएको छ ।

सांसद सुवेदीले कोरियामा ज्यान गुमाएका पश्चिम दाङका एकेन्द्र वलीको घरमा समेत पुगेर परिवारसँग भेटघाट गर्दै अवस्थाबारे जानकारी लिनुभएको छ ।

सुवेदीले यसअघि पनि समय–समयमा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर नागरिकका समस्या बुझ्दै आउनुभएको बताइएको छ । उहाँले जनताबाट प्राप्त गुनासो र मागलाई सम्बन्धित निकायमा पुर्‍याउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा पनि जनतासँगको प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

जनताले भने विगतमा निर्वाचित भएपछि निर्वाचन क्षेत्रमा नफर्किने सांसदको गुनासो हुने गरेको भन्दै सांसद सुवेदी आफूहरूसँग प्रत्यक्ष भेटेर समस्या बुझ्न आएकोमा आफ्ना माग तथा समस्या राख्न पाएको बताएका छन् ।

सांसद सुवेदीले संसदमा समेत आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या तथा गुनासोका विषयमा पटक–पटक आवाज उठाउँदै आउनुभएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते बुधवार