२०८२ बैशाख ५ गते शनिवार

आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप



कार्तिक २८।
१२ वर्ष माथिका दीर्घरोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप आजदेखि लगाइँदैछ ।

आठ प्रकारका दीर्घरोग भएका व्यक्तिलाई फाइजर खोप लगाइने छ ।
फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

खोप केन्द्र तोकिएका ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म खोप लगाउनले कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । यो खोप अभियान मङ्सिर ४ सम्म चल्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ सम्म सञ्चालन हुनेछ ।

महाशाखाका अनुसार खोप लगाउन देशभर २४ खोप केन्द्र तोकिएका छन् । खोप सेसन सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्याङक हेर्ने व्यक्ति खटाइएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको जानकारी दिए । उनले आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए ।
सरकारले कोभ्याक्स सुविधामार्फत् सहयोगस्वरूप प्राप्त भएको फाइजर बायोएनटेक खोप एक लाख छ सय ३० मात्रा प्राप्त गरेको थियो ।

१२ वर्षमाथिका निम्न दीर्घरोग भएका बिरामी, लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामीले यो खोप पाउने छन् ।

लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी, कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्तिले पनि खोप लिनेछन् ।

तर, कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएको, १२ वर्षभन्दा कम उमेरको व्यक्ति, खोप खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिले यो खोप लगाउन नमिल्ने चिकित्सकले बताएका छन् ।

कोभिड–१९ सङ्क्रमित भएको अवस्थामा यो खोप लगाउन नभएपनि निको भएको ३० दिनपछि यो खोप लगाउन मिल्छ । कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउन हुँदैन । तर यस प्रकारको अवस्था ठीक भएपछि भने खोप लगाउन मिल्छ ।

खोप लगाउँदा सुरु–सुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई–तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुने सिंहले बताए । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार