२०८० चैत्र १५ गते बिहिवार

भिटामिन सीको कमीले आँखाको ज्योति जाने खतरा



असोज २८।

भिटामिन सी शरीरका लागि निकै आवश्यक छ । महिलालाई एक दिनमा ७५ मिलिग्राम जबकी पुरुषलाई ९० मिलिग्राम भिटामिन सीको आवश्यकता पर्छ । हाम्रो शरीरले न त आफैंले भिटामिन सी बनाउन सक्छ न नै यसलाई सञ्चित गर्न सक्छ नै । त्यसैले यसको कमी पूरा गर्नका लागि खानामा हरेक दिन भिटामिन सी लिन आवश्यक छ ।
कसलाई हुन्छ भिटामिन सीको कमी ?

खराब खानपिन शैली अपनाउने, मृगौलाकमा रोगी, असाध्यै धेरै चुरोट र रक्सी पिउनेहरुमा भिटामिन सीको असाध्यै कमी हुन्छ । शरीरमा भिटामिन सी असाध्यै कम हुँदा केही विशेष लक्षण देख्न पाइन्छ ।

घाउ ढिलो निको हुनुः

चोट लाग्दा रगत र तन्तुमा हुने भिटामिन सीको स्तर निकै कम हुन्छ । शरीरलाई कोलेजन बन्नका लागि यसको आवश्यकता पर्छ । कोलेजन एक प्रकारको प्रोटिन हो जसले छालाको मर्मत गर्ने काम गर्छ । भिटामिन सीले न्यूट्रोफिललाई पनि मद्दत पुर्याउँछ । न्यूट्रोफिल सेतो रक्त कोसिका हुन् जसले संक्रमणसँग लड्न सघाउ पुर्याउँछ । भिटामिन सीको कमी हुँदा शरीरले यी सबै आवश्यक तत्व पाउन सक्दैन जसका कारण घाउ निको हुन निकै समय लाग्छ ।

दाँतबाट रगत आउनु, नाकबाट रगत बग्नुः

भिटामिन सीले रक्त वाहिकालाई स्वस्थ राख्छ । दाँत र गिजा बलियो हुनका लागि पनि कोलेजन आवश्यक पर्छ । एक शोधका अनुसार गिजाको रोग भएका जुन व्यक्तिले २ हप्तासम्म अंगुर खाए, उनीहरुको दाँतबाट रगत निस्कन बन्द भयो । यसबाहेक नाकबाट बारम्बार रगत आउनु पनि भिटामिन सीको कमीको संकेत हुनसक्छ ।

तौल बढ्नुः
थुप्रै अनुुसन्धानमा भिटामिन सीको कम स्तर र तौल बढ्दै गरेको बीच एक प्रकारको सम्बन्ध पाइएको छ । विशेषगरी पेटको बोसोमा । यस्तै पर्याप्त मात्रामा भिटामिन सी पाउँदा शरीरको बोसो ऊर्जामा परिणत हुन्छ ।
रुखो, चाउरी परेको छालाः

भिटामिन सीको कमीले छाला रुखो हुन्छ । यसबाहेक छाला चाउरी पर्नुका साथै डण्डीफोर पनि आउने गर्छ । यस्तै, जो मानिसहरु भिटामिन सीयुक्त खानेकुराको सेवन गर्नुहुन्छ उनीहरुको छाला चिल्लो र मुलायम हुन्छ । भिटामिन सी एउटा एन्टीअक्सिडेन्ट हो जसले छालालाई फ्री रेडिकल्सबाट जोगाउन मद्दत गर्छ ।

थकान र चिडचिडापनः
भिटामिन सीको कमीले जतिबेला पनि थकान र चिडचिडापन महसुस हुन्छ । १४१ व्यक्तिमाथि गरिएको एक अनुसन्धानमा भिटामिन सीको कमीले यीमध्ये धेरैलाई थकाई लागेको थियो । तर भिटामिन सी दिएको केही घण्टाभित्रै उनीहरुलाई आराम महसुस भएको थियो । यद्यपि, थकान र चिडचिडापनका अन्य पनि थुप्रै कारण हुनसक्छन् ।

कमजोर प्रतिरोधीः

भिटामिन सीको कमीले प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । प्रतिरोधी क्षमता कमजोर ह्ँदा तपाईं बारम्बार बिरामी पर्न सक्नुहुन्छ वा निको हुन धेरै समय लाग्न सक्छ । केही शोधका अनुसार भिटामिन सी निमोनिया र मूत्राशय संक्रमणजस्ता रोगबाट बचाउने काम पनि गर्छ । यसका साथै यसले मुटु रोग र केही प्रकारको क्यान्सरको आशंकालाई पनि कम गर्न सक्छ ।

आँखा कमजोर हुनुः
यदि तपाईंको आँखा उमेरसँगै कमजोर भइरहेको छ भने भिटामिन सी र अन्य एन्टीअक्सिडेन्टको कमीले यो थप खराब हुनसक्छ । खानामार्फत् भिटामिन सी प्राप्त गर्दा मोतीबिन्दुको सम्भावना कम हुन्छ ।

स्कर्भी रोगः
भिटामिन सीको कमीले थुप्रै मानिसहरुलाई स्कर्भी रोग पनि लाग्ने गर्छ । यसका कारण बिरामीमा कमजोरी, थकान, दाँत हल्लिनु, कमजोर नङ, जोर्नी दुखाई र कपाल झर्नेजस्ता समस्या हुन थाल्छ । शरीरमा भिटामिन सीको मात्रा बढ्दा यी लक्षणमा कमी आउन थाल्छ ।

भिटामिन सी युक्त खानेकुराः
सन्तुलित खानामार्फत् यसको कमी सजिलै पूरा गर्न सकिन्छ । आफ्नो खानामा सुन्तला, कागती, पालुङ्गो, किवी, अमला र ब्रोकली पक्कै पनि समावेश गर्नुहोस् ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार