
असोज ०९।
बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।
ह्याम्स अस्पतालका जियार्टिसियन डा. रमेश कँडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङको क्रममा बोल्दै बुढ्यौलीमा आउने यो रोगबाट बच्न युवा उमेरमै स्वास्थ्यमा ध्यान दिन सुझाए।
डा. कडेलका अनुसार अल्जाइमर रोग विशेष गरी ६५ वर्षपछि केही मानिसमा र ४० प्रतिशत ज्येष्ठ नागरिकमा ८० वर्षपछि आउने हुनाले सुरुमा अल्जमाइरको लक्षण देखिनेबित्तिकै उपचारमा लगेमा नियन्त्रणमा राख्न सकिन्छ।
पुराना कुरा याद हुने, भर्खरै गरेको कुरा बिर्सिनेजस्ता लक्षण यो रोगको सुरुका लक्षण हुन्। यो रोगको सुरुमै उपचारमा गए नियन्त्रणमा राख्न सकिन्छ। सुरुमै उपचार गरे यो रोगको थप वृद्धि नभई बुढ्यौलीको उमेर बिताउने व्यक्ति र उनको हेरचाहमा खटिने दुवैलाई सहज हुने डा. कँडेलले बताए।
चिकित्सकका अनुसार बुढ्यौलीमा हुने यो रोग युवा हुँदा अपनाएका गलत जीवनशैलीको कारण देखापर्छ। स्वस्थ जीवनशैली नअपनाउँदा हुने मधुमेह, उच्च रक्तचाप, एक्लोपना, निष्क्रिय दैनिकीजस्ता जीवनशैली भएका व्यक्तिहरू बुढ्यौलीमा अल्जाइमर लाग्ने सम्भावना उच्च हुन्छ।