
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको गुजरातको यो दोस्रो जित हो । एक खेलमा भने गुजरात पराजित भएको थियो ।
गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने गुजरातको टोली बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्ससँग उसैको घरेलु मैदानमा ६३ रनले पराजित भएको थियो ।
यसैगरी जारी प्रतियोगितामा तेस्रो खेल खेलेको हैदराबादको यो दोस्रो हार हो । हैदराबादले पनि यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा भने हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको थियो
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको हैदराबादले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर एक सय ६८ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
गुजरातका लागि साई सुदर्शनले ४५ रनको योगदान गरे । उनले केवल ३६ बलको सामना गरी एक छक्का र चार चौका प्रहार गरे । डभिड मिलरले पनि अविजित ४४ रन बनाए । उनले केवल २७ बलमा दुई छक्का र चार चौका हिर्काए ।
यसैगरी कप्तान शुभमन गिलले टोलीको खातामा ३६ रन थपे । उनले २८ बलमा एक छक्का र दुई चौका प्रहार गरे । ओपनर ऋद्धिमन साहले पनि टोलीको खातामा २५ रन थपे । उनले केवल १३ बलमा दुई छक्का र एक चौका प्रहार गरे । विजय शंकर १४ रनमा अविजित रहे । हैदराबादका बलर सहबाज अहमद, मायांक कारकन्डे र प्याट कमिन्सले एक-एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेख्य पाली खेल्न सकेका थिएनन् । अभिषेक शर्माले २९ रन बनाएका थिए । उनले २० बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए ।
अब्दुल समादले पनि टोलीको खातामा २९ रन थपेका थिए । उनले केवल १४ बलमा एक छक्का र तीन चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेसनले १३ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन बनाए ।
सहबाज अहमदले टोलीको खातामा २२ रन थपे । ओपनर ट्राभिस हेड १९ र अर्का ओपनर मयांक अग्रवाल १६ रन बनाउँदै पेभेलियन फर्किए । गुजरातका बलर मोहित शर्माले तीन विकेट लिए । अजमतुल्लाह ओमरजाई, उमेश यादब, रासिद खान र नुर अहमदले पनि एक-एक विकेट हात पारे ।