तुलसीपुर उपमहानगरपालिका ले वडा नं. ३ र ९ को सिमानामा पर्ने गहते खोला (शिवपुर) मा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। उपमहानगरपालिकाले करिब १ करोड ५५ लाख रुपैयाँ लागत अनुमानसहित “राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र (NCB)” प्रक्रिया अघि बढाएको हो।
उपमहानगरपालिकाद्वारा जारी सूचनाअनुसार पुल निर्माणको कुल लागत रु. १,५५,०९,२७७.२० (भ्याट र पीएस बाहेक) निर्धारण गरिएको छ। निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को अनलाइन प्रणालीमार्फत २०८२ चैत १८ गते (३१ मार्च २०२६) दिउँसो १२:०० बजेसम्म आवेदन दिन सक्नेछन्। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २:०० बजे खोलिने जनाइएको छ।
बोलपत्रमा सहभागी हुन रु. ३,००० दस्तुर तिर्नुपर्नेछ भने कम्तीमा रु. ४,५०,००० धरौटी (१२० दिन मान्य) राख्नुपर्ने व्यवस्था गरिएको छ।
वर्षायाममा गहते खोलामा आउने बाढीका कारण स्थानीयले वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। प्रस्तावित पुल निर्माण सम्पन्न भएपछि वडा नं. ३ र ९ बीच सिधा यातायात सम्पर्क स्थापित हुने तथा स्थानीय कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
तुलसीपुर ले पछिल्लो समय पूर्वाधार विकास र ‘कनेक्टिभिटी’ लाई प्राथमिकता दिँदै आएको छ। उक्त पुल निर्माणलाई स्थानीयस्तरमा महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।









