२०८२ फाल्गुन २९ गते शनिवार

दाङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेतलाई युवा नेता जितेन्द्र शाहको समर्थन



दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेतलाई समाजसेवी तथा युवा नेता जितेन्द शाहले औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गरिएको यो समर्थनले क्षेत्रको चुनावी माहोल थप तातेको छ।
समर्थन घोषणा कार्यक्रममा बोल्दै युवा नेता शाहले परम्परागत राजनीतिक दल र नेताहरूबाट जनताले अपेक्षा गरेको परिवर्तन हुन नसकेको भन्दै अब नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता रहेको बताए। उनले भने, “दाङ–३ ले अब भाषण होइन, काम गर्ने नेता खोजिरहेको छ। जनताका दुःख–सुख बुझ्ने र उनीहरूसँगै हिँड्ने उम्मेदवार यमबहादुर बस्नेत रहेको बताएका छन।”
शाहका अनुसार बस्नेत इमानदार, संघर्षशील र जनमुखी नेता हुन्। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिँचाइ र पूर्वाधार विकासका सवालमा उनले उठाएका मुद्दा व्यवहारिक र जनताको आवश्यकतासँग जोडिएका रहेको शाहको भनाइ छ। “राजनीति पद र शक्ति होइन, सेवा हो भन्ने भावना बोकेका उम्मेदवारलाई जिताउनु आजको आवश्यकता हो,” उनले जोड दिए।
स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेतले आफूलाई प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै यो समर्थन व्यक्तिगत लाभका लागि नभई समग्र दाङ–३ का जनताको आशा र विश्वासको प्रतीक भएको बताए। उनले भने, “मैले जनताका समस्या नजिकबाट भोगेको छु। संसदमा पुगेपछि यहाँका आवाजलाई मजबुत रूपमा उठाउनेछु र कुनै पनि हालतमा जनताको विश्वास तोड्ने छैन।”
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा तथा युवाहरूले स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार लामो समयदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट आजित जनता अब वैकल्पिक र भरोसायोग्य नेतृत्वतर्फ आकर्षित हुँदै गएका छन्।
जितेन्द शाहको समर्थनपछि दाङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेतको चुनावी अभियान थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार