
सल्यान — शारदा नगरपालिका–९, जलुकेबारी सल्यानमा नवनिर्मित हरियोखर्क मण्डली भवनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री माननीय शुरेस अधिकारीको प्रमुख आतिथ्यतामा मण्डली भवनको उद्घाटन गरिएको हो।उद्घाटन समारोहमा संस्थापक लक्ष्मन कुमार विक, निर्माण उपसमिति अध्यक्ष कर्णबहादुर थापा तथा शारदा नगरपालिका–९ का वडा अध्यक्ष हेमेन्द्र कुमार थापा बुढाथोकी लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सुरुवात नै बाजागाजासहित भव्य रूपमा गरिएको थियो। स्थानीय संस्कृति र परम्परालाई झल्काउने बाजागाजासहित सहभागीहरूले कार्यक्रमस्थललाई उत्सवमय बनाएका थिए।नवनिर्मित मण्डली भवन निर्माण सम्पन्न भएसँगै स्थानीय धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। भवनले स्थानीय समुदायलाई धार्मिक कार्यक्रमसँगै सामाजिक तथा सामुदायिक गतिविधिका लागि समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री शुसेस अधिकारीले यस्ता सामुदायिक संरचनाले स्थानीय समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा धार्मिक गतिविधिलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले पनि नवनिर्मित मण्डली भवनप्रति समुदायको अपनत्व र चासो स्पष्ट देखिएको थियो।भव्य बाजागाजासहित सम्पन्न उद्घाटन समारोहले जलुकेबारीमा नयाँ उत्साह थपेको छ।







