तुलसीपुर, २६ चैत्र — नेपाल पत्रकार महासंघ दाङले सजना मिष्ठान भण्डारसँग सम्बन्धित समाचारको विषयमा भइरहेका सार्वजनिक टिप्पणी र वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघको पदाधिकारी बैठकपछि अध्यक्ष सन्तोष सुवेदीद्वारा जारी विज्ञप्तिमा तुलसीपुर उद्योग वाणिज्य संघको नामबाट व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति आपत्ति जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित मिडियामा खण्डन प्रकाशित गराउने वा असहमति भए प्रेस काउन्सिलमा उजुरी दिने वैधानिक प्रक्रिया हुँदाहुँदै ती प्रक्रिया अवलम्बन नगरी वक्तव्यबाजी गर्नु उपयुक्त होइन।”
महासंघले पत्रकारितामाथि नकारात्मक प्रभाव पार्न सक्ने प्रचारबाजीबाट सचेत रहन सबै पक्षलाई आग्रह गरेको छ।
यसैबीच, सञ्चार माध्यममा आएका समाचार तथा प्रतिक्रियाको अध्ययन गर्न महासंघले सचिव जे.एन. सागरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सहसचिव प्रकाश चौधरी र कोषाध्यक्ष अमर क्षितिज भण्डारी सदस्य रहेका छन्।
महासंघले मर्यादित पत्रकारितामार्फत पेशाको गरिमा जोगाउन र आचारसंहिताभित्र रही विश्वसनीय समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार माध्यम तथा पत्रकारलाई अपिल समेत गरेको छ।








