
तुलसीपुर, ६ माघ । सडक स्तरोन्नति गर्नुको साटो जताततै भताभुङ्ग र लथालिङ्ग पारेपछि बाध्य भएर तुलसीपुरमा क्रियाशील युवा व्यवसायीहरूले उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको काम विहीवारदेखि थालेका छन् । ती युवाहरूले तुलसीपुर उपमहानगरपालिका सँगको समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवम् बीच–बीचमा परेका खाडलहरू पुर्न थालेका हुन् ।

तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरूले पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन् । काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए । खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका अभियन्ता पवनकुमार योगीले बताएका छन् । यस क्षेत्रका कम्तिमा डेढ दर्जन बढी व्यवसायीले ५ थान टिप्पर, १ थान रोलर र २ वटा भ्याकुहोलोडर प्रयोग गरेर खाडल पुरिरहेका छन् ।
‘दैनिक यात्रा निकै कष्टकर भएकाले सामाजिक अभियानअन्तर्गत् यो काम थालेका हौँ, सडक पूरै स्तरोन्नति नभएपछि यो मर्मतले केही महिनाका लागि यातायात सेवा केही सहज हुनेछ र दुर्घटना न्यूनीकरणमा पनि हाम्रो अभियानले सहयोग पु¥याउने छ’, अर्का युवा अभियन्ता कृष्ण खड्काले भने । उनीहरूले ग्राभेल बाहेकका सबै काम आफैले आर्थिक व्यवस्थापन गरेर गरिरहेको बताएका छन् ।
उनीहरूले खाडल र फाटेका किनाराहरूमा ग्राभेलसँगै आवश्यकताअनुसार माटो र पानी हालेर रोलरले दबाउँदै सडकमा खाडल पुर्न थालेका छन् । विहीवार तुलसीपुरको हात्तीखौवादेखि काम सुरु भएको छ । ती युवाहरूले तुलसीपुर उपमहानगरपालिकाको मज्गैसम्मका खाडलहरू पुर्ने योजना बनाएका छन् । त्यसका लागि कम्तिमा एक साता लाग्नसक्ने भन्दै सोही अवधिको ग्राभेल बोक्ने चलान पुर्जीको समेत अनुमति सम्बन्धित तहहरूबाट लिएका छन् ।
यस अघि जिल्ला समन्वय समितिको समन्वयमा बसेको बैठकमा चारलेन परियोजनाको निर्माण कम्पनीले पनि आफ्ना स्रोत साधन लगाएर खाडल पुरे पनि अविरल वर्षातका कारण एक महिना पनि टिक्न सकेन । त्यो बेला पनि घोराही र तुलसीपुर उपमहानगरपालिकाले आ–आफ्नो पायक पर्ने क्षेत्रबाट नदीजन्य पदार्थ उठाउन अनुमति दिएका थिए ।
निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा कम्तिमा ७ मिटर कालोपत्रे सडक पनि अहिले रहन सकेन । दुवै किनाराबाट फाट्दै अहिले मुस्किलले ३ मिटरमा खुम्चिएको छ । झरीमा पानी ओत लाग्ने सडक किनाराका प्रतीक्षालयहरू भत्काइएका छन् । गर्मीमा बस कुर्दा शीतल लिने रूखहरू काटिएका छन् ।
सडक किनाराका धरापमा परेका विद्युतका पोलहरू ढल्ने प्रतीक्षामा छन् तर चारलेन सडक निर्माणको जिम्मा लिएको भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पेटी ठेकेदार फेरेको फे¥यै छ । सरकारबाट बिनाशर्त ४ पटक म्याद थपाएको पनि छ तर काम गराउने सरकार निर्लज्ज भएर म्याद थप गरेको ग¥यै छ ।
२८ दशमलव १९ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि नेपाल सरकार सडक विभाग माताहतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट मातहतमा काम हुने गरी घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म कतै चारलेन त कतै दुईलेन बनाउने गरी निर्माण सम्झौता भएको चार वर्ष नाघिसकेको छ । सुरुमा ३३ महिनामा काम सक्ने गरी परियोजनासँग निर्माण सम्झौता भएको होे । सुरुको सम्झौता भएको सन् २०१९ जनवरी २८ मा तर तीन पटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्रै छ ।
तथ्यले सुरुमा यहीकै अनुप पाण्डे, जनक डाँगी र जविन रानालाई आधिकारिक प्रतिनिधिका रूपमा खटाएको थियो । उनीहरूबाट काम हुन नसकेपछि तथ्य इन्जिनियरिङकै प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डे दाङमै आएर भिङ्ग्रेली होटलको दक्षिणतर्फको चौरमा त्रिपाल टाँगी मञ्च बनाएरै त्यहीँबाट यी तीनै जनालाई हटाएर नयाँ प्रतिनिधि एकेन्द्र खड्कालाई नियुक्त गरेको पत्र परियोजना कार्यालयमा तथ्यले पठायो ।
एकेन्द्रबाट पनि काम शून्य प्रायः भएपछि विजय पाठकलाई नियुक्त गरेको उद्घोष गरे । विजय पाठक प्रतिनिधि भइरहेका बेला नेपाल सरकार परियोजना कार्यालयले ठेक्का रद्दको सूचना निकालेपछि तथ्य इञ्जिनियरिङले श्रेष्ठ कन्स्ट्रक्शनका सञ्चालक रोशन श्रेष्ठलाई प्रतिनिधिक रूपमा नियुक्त गरेको जानकारी दियो ।