तुलसीपुर उपमहानगरपालिका–८ स्थित कृष्ण मन्दिरको जग्गा अतिक्रमण तथा व्यवस्थापनमा अनियमितता भएको जनगुनासो बढेपछि स्वतन्त्र डिजिटल पत्रकार संघले मन्दिर व्यवस्थापन पक्षलाई ज्ञापनपत्र बुझाएको छ।
संघले उक्त ज्ञापनपत्र मन्दिर व्यवस्थापन समितिका सचिव भूपबहादुर केसीलाई बुझाउँदै मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरी प्रयोग गरिएको विषयमा स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेको छ।
त्यस्तै, सप्ताह, पूजाआजा तथा विभिन्न पर्व–मेलाबाट संकलित आम्दानीको विवरण हालसम्म सार्वजनिक नगरिएको भन्दै त्यसलाई पारदर्शी रूपमा सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।
संघका अध्यक्ष शंकर भुसाल नेतृत्वको टोलीले मन्दिरभित्र देखिएको व्यवस्थापन समस्या र आर्थिक गतिविधिबारे यथार्थ सूचना जनतामाझ ल्याउनुपर्नेमा जोड दिएको छ। साथै, मन्दिरको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भए–नभएको तथा भए त्यसको फिर्ता प्रक्रिया के छ भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गरिएको छ।
स्थानीयस्तरमा उठिरहेका यी गम्भीर विषयमा पारदर्शी समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक रहेको संघले जनाएको छ।








