तुलसीपुर उपमहानगरपालिका–८ बुटेनियास्थित जागरण टोलमा लामो समयदेखि लत्रिएका पोल तथा विद्युतका तारका कारण स्थानीयवासीले भोग्दै आएको समस्या समाधान भएको छ।
सडक तथा बस्ती क्षेत्रमा पोल र तार लत्रिँदा आवतजावतमा कठिनाइ हुनुका साथै सम्भावित दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासीले समस्या समाधानका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका थिए।
पुरानो समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर–८ का वडा सभापति दुर्गा डाँगीले विद्युत कार्यालयमा तत्काल जानकारी गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो।
डाँगीको पहलपछि विद्युत कार्यालयका कर्मचारीहरू त्यहाँ पुगेर लत्रिएका पोल तथा तारलाई व्यवस्थित गर्दै आवश्यक मर्मत तथा व्यवस्थापन गरेका हुन्।
समस्या समाधान भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। लामो समयदेखि आफूहरूले भोग्दै आएको समस्या समाधानका लागि पहल गरेको भन्दै स्थानीयवासीले दुर्गा डाँगी तथा विद्युत कार्यालयलाई धन्यवाद दिएका छन्।
विद्युत कार्यालयका कर्मचारीहरूले पनि लत्रिएका पोल तथा तारका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तत्काल मर्मत तथा व्यवस्थापन गरिएको बताएका छन्। साथै, विद्युतसम्बन्धी यस्ता समस्या देखिएमा समयमै सम्बन्धित कार्यालयमा जानकारी गराउन स्थानीयवासीलाई आग्रह गरेका छन्।
समस्या समाधानसँगै स्थानीयवासी र विद्युत कार्यालयका कर्मचारीबीच आगामी दिनमा यस्ता जोखिम न्यूनीकरण तथा विद्युत संरचनालाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको छ।








