शैक्षिक अवलोकन
तुलसीपुर, दाङ। कक्षा ८ का विद्यार्थी भाइबहिनीहरूले स्थानीय पाठ्यक्रमअन्तर्गत समावेश गरिएको चन्द्रवीर वलीको जीवनी अध्ययनपछि उहाँसँग प्रत्यक्ष भेटघाट तथा शैक्षिक अवलोकन गरेका छन्। विद्यार्थीहरू तुलसीपुर उपमहानगरपालिका–३, खमारीस्थित उहाँकै निवासमा पुगेर उहाँको जीवनसंघर्ष, प्रेरणादायी कार्य र अनुभवबारे जानकारी लिएका हुन्।
अवलोकनका क्रममा चन्द्रवीर वलीले कठिन परिस्थितिका बीच पनि निरन्तर मेहनत, आत्मविश्वास र दृढ संकल्पले जीवनमा सफलता हासिल गर्न सकिने सन्देश विद्यार्थीहरूलाई दिनुभयो। विद्यार्थीहरूले पाठ्यपुस्तकमा पढेको विषय प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउँदा निकै उत्साहित भएको बताएका थिए।
यस्तो शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई स्थानीय इतिहास, समाज र प्रेरणादायी व्यक्तित्वबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। तुलसीपुरको स्थानीय पाठ्यक्रममा स्थानीय व्यक्तित्व र समाजसँग जोडिएका विषय समेटिएको छ, जसले विद्यार्थीलाई आफ्नै समुदायसँग नजिकबाट परिचित गराउने उद्देश्य राखेको छ।









