२०८३ साउन ७ गते शुक्रवार

नवज्योति सांस्कृतिक युवा क्लबद्वारा सहाराविहीन दुई बालकलाई खाद्यान्न र नगद सहयोग, थप सहयोगका लागि अपिल



तुलसीपुर उपमहानगरपालिका–३ कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले सहाराविहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ। क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा क्लबको टोलीले पीडित परिवारको घरमै पुगेर रु. १६ हजार ५ सय ८५ नगदसहित चामल, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।

केही वर्षअघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई छोराले अहिले आमालाई समेत गुमाएका छन्। विषालु च्याउ खाँदा आमा दीपाको दुःखद निधन भएपछि दुई बालकको अवस्था निकै कठिन बनेको छ। बुवा र आमाको निधनपछि बालकहरू सहाराविहीन बनेका छन्।

पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ। विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्।

तर बालकहरूको शिक्षा, पालनपोषण तथा दैनिक जीवनयापनका लागि निरन्तर सहयोग आवश्यक पर्ने भएकाले सहयोगी मन भएका सम्पूर्ण व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहनुभएका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन अपिल गरिएको छ। सानो सहयोगले पनि अभिभावकविहीन बनेका यी बालकहरूको भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते शुक्रवार