२०८२ बैशाख ४ गते शुक्रवार

होशियार पैसाले मत किन्न सक्छन्




डिल्लीराज भुसाल

आसन्न स्थानीय तहको निर्बाचन नजिकिदै जादा टोल टोल मा दल र स्वतन्त्र उम्मेदवारहरु लर्को लाएर घर दैलो मा आईरहेको बेला कोहि नयाँ अनुहारहरु आईरहेका छन भने कोहि हिजो चार बर्ष एघार महिना शासन सन्चालन गरेका कार्यकारी प्रतिनिधि वा अन्य प्रतिनिधिहरु अहिले दसै औला जोडि जनताको अगाडि लम्पसार पर्दै आईरहेका छ्न। के यिनिहरु साच्चिकै जनता प्रती नतमस्तक बनेका हुन त सोचनिय बनेको छ।

अरु बेला श्रमजीवी,मजदुर, किसान लाई बेवास्ता गर्ने अरुबेला एसी गाडीमा हुइँकिनेले राजमार्गकै छेउछाउमा गिटी कुट्नेहरूको कहानी थाहा पाउलान् र अरुबेला श्रमजिबि लाई बेवास्ता गर्ने ले श्रमिक को समस्या हल गर्न सक्लान् र?


यी र यस्ता थुप्रै दृश्य छन्, जुन दृश्यलाई विगत पाँच वर्ष राज्यले देखेन, सुनेन अथवा देख्न र सुन्न चाहेन । तर चुनावको घोषणासँगै अब ती बस्तीहरूमा पनि नेताहरूको उपस्थितिले बस्ती गुल्जार हुन थालेको छ, हप्ता पन्ध्र दिनका लागि नै किन नहोस् ।दलित बस्ती भनौं वा राउटे बस्ती, छाउगोठ भनौं वा राजमार्गसँग जोडिएका झुप्रे पसल भनौं, ठेलागाडामा तरकारी बेच्नेहरू भनौं वा फुटपाथमा पसल राख्नेहरू भनौं अथवा गाडी रोकिनासाथ पानीका बोतल किनिदिन आग्रह गर्ने बालबालिका भनौं, फुटपाथमा चिया बेच्नेदेखि माग्नेसम्मका भुइँमान्छेहरू किन नभनौं यी राज्यका आँखामा विगत ५९ महिनासम्म नपरेका अनुहार हुन् । ती अनुहार राज्यका दृष्टिमा अप्रिय हुन्, जसले राज्यको इज्जत, प्रतिष्ठा, मानमर्यादा र सहरको सुन्दरतामा कुरुपता थपेका छन् । यी सीमान्तकृत कसैले पनि नरुचाइएका अनुहार हुन् ।

चार वर्ष नौ महिना अर्थात् ५९ महिना अति अप्रिय लाग्ने तीनै अनुहारहरू आज प्रिय छन् । हिजो तिनीहरू गरिब थिए, आज तिनीहरूसँग अमूल्य सम्पत्ति छ त्यो अमूल्य सम्पत्ति हो मताधिकारको सम्पत्ति । यतिबेला चाहिं त्यही विगतमा नरुचाइएका अनुहारहरूको अमूल्य सम्पत्ति हत्याउन दलहरू मोलमोलाइ सहित ती गरिब झुपडीका घरदैलोमा पुगेका छन्, हात जोड्दै । जति दुःख गर्दा पनि एकछाक धान्न धौ-धौ परेका र धरतीभन्दा माथि उठ्न नसकेका यी भुइँमान्छेहरूलाई यतिबेला नमस्कार फर्काउनको भ्याईनभ्याई छ ।


आज मज्जाले सोध्ने बेला हो आज मज्जाले तिनिहरु लाई खिसिटिहुरी गर्ने हो हामीले । भोलि बाट तिरस्कृत पन्छिनु पर्ने छ आज हामीले भोट हाल्दा धेरै सोच्नुपर्ने बेला भएको छ।
पाँच लिटर पेट्रोल ,पाँच छाक मासु भात र दुई चार हजार रुपैयाँको लोभमा परि आफ्नो अमुल्य मत लाई दलाल ,पुजीवादी ,सामन्ती सोच भएका नेता लाई नेतृत्वदायी भुमिकामा ल्याउने काम नगरौ।

बितेको पाँच वर्षमा के के परिवर्तन भयो ? यो सोध्ने बेला हो, खोज्ने बेला हो । निर्वाचनको पाँच वर्षपछि अर्को शासकको अनुहार मात्र परिवर्तन गर्ने हो कि, देशको मुहार परिवर्तन गर्ने हो ? भनेर प्रश्न गर्ने बेला हो । नेताहरूले बाड्ने हरेक सपनाहरूमाथी किन र कसरी भनी प्रश्न सोधौ र जवाफ मागौ ,बेकारका सपना बाडेर जनता को सेन्टिमेन्ट क्याच गर्ने नेता लाई बहिस्कार गरौ सक्षम र सबल ब्यक्ति लाई मतदान गरौ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार