चैत्र ८
गत सप्ताहान्तमा प्रकाशित वर्ल्ड ह्यापिनेस रिपोर्टले नेपाललाई दक्षिण एशियाली देशहरूमा सबभन्दा धेरै खुसी भएको देखाएपछि त्यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भएको छ।
के नेपालीहरू साँच्चिकै त्यति धेरै खुसी छन् त भन्ने आशयका टिप्पणीहरू प्रशस्तै गरिएको छ।
उक्त रिपोर्टले विश्वका १४६ देशहरूको तुलना गरेर एउटा सूची प्रकाशित गरेको छ जसमा नेपाल ८४औँ स्थानमा छ।
संसारभरिको औसतका आधारमा नेपाल खासै खुसी मुलुक भएको सङ्केत त्यसले गर्दैन। यद्यपि दक्षिण एशिया र छरछिमेकमा भने नेपाल सबैभन्दा अगाडि छ।
बाङ्ग्लादेश ९४औँ स्थानमा छ भने पाकिस्तान १२१औँ स्थानमा छ। त्यसैगरी श्रीलङ्का १२७औँ स्थानमा छ भने निकट छिमेकी भारत १३६औँ स्थानमा छ।
दक्षिण एशियाली देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १४६औँ स्थानमा छ।
भुटान र माल्दिभ्स उक्त सूचीमा समाविष्ट छैनन्। उत्तरी छिमेकी चीन चाहिँ ७२औँ स्थानमा छ।
संसारमै सबभन्दा खुसी मुलुकमा फिनल्यान्ड लगातार पहिलो स्थानमा रहँदै आएको छ। शीर्ष १० मुलुकमा अधिकांश उत्तरी युरोपको वर्चस्व छ।