उज्यालो भविष्यको सपना बोकेर केही वर्षअघि अमेरिका पुग्नुभएका दाङका युवा कृष्ण घिमिरेको टेक्सास राज्यको अस्टिन सहरमा दुःखद निधन भएको छ।
२८ वर्षीय कृष्ण घिमिरे तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीका स्थायी बासिन्दा हुनुहुन्थ्यो। उहाँ अप्रिल १४ को साँझ कार्यस्थलबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो। गम्भीर अवस्थामा डेल सेटन मेडिकल सेन्टरमा भर्ना गरिएपछि आठ दिनसम्मको सघन उपचारपछि, अन्ततः उहाँले प्राण त्याग गर्नुभयो।
उहाँ टेक्सासमा श्रमिकका रूपमा कार्यरत हुनुहुन्थ्यो। मेहनती, परिवारप्रति समर्पित र उज्यालो भोलिको सपना बोकेका एक होनहार युवा हुनुहुन्थ्यो। नेपालमा रहेका उहाँका आमाबुबाको आशा, सपना र माया बोकेर परदेश पसेका कृष्ण अहिले सधैंका लागि टाढा भइदिनुभएको छ।
उहाँको अन्त्येष्टि टेक्सासमै गरिने तयारी भइरहेको छ। अन्त्येष्टि तथा अन्य आवश्यक व्यवस्थाका लागि आर्थिक सहयोग अत्यावश्यक बनेको छ।
यसै सन्दर्भमा, राप्ती सेवा समाज न्यूयोर्कका अध्यक्ष दिपक भट्टराईले सम्पूर्ण नेपाली समुदायलाई अपिल गर्दै भन्नुभएको छ—
“कृष्ण घिमिरे परदेशमा संघर्षरत नेपाली युवामध्येका एक हुनुहुन्थ्यो। आज उहाँ हामीबीच रहनुभएन। यो पीडादायी घडीमा हामी सबैको सानो सहयोग उहाँको परिवारलाई ठूलो मलम बन्न सक्छ। कृपया आफ्नो क्षमता अनुसार साथ दिऊँ।”
आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न लिंकमार्फत योगदान गर्न सक्नुहुन्छः








