२०७९ मङ्सिर १७ गते शनिवार

कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश




घनश्याम भुसाल
२०७४ असोज तेस्रो हप्ता नेपालको राजनीतिमा अचानक असाधारण मोड आयो— नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चुनावमा गठबन्धन गर्न र भविष्यमा पार्टी एकता गर्न तयार भए । त्यसले नेपालको कम्युनिस्ट आन्दोलनको इज्जत, प्रतिष्ठा, शक्ति, प्रभावलाई ह्वात्तै बढायो । सुदूर गाउँका कम्युनिस्ट सदस्य र समर्थकहरूमा समेत आफू कम्युनिस्ट पार्टीको सदस्य वा शुभचिन्तक भएकामा आत्मगौरव बढ्यो ।
कम्युनिस्टहरूले चुनाव जिते । संघ र प्रदेशहरूमा कम्युनिस्ट पार्टीका सरकारहरू बने । त्यसले मुलुकको राजनीतिमा स्थायित्व, सुशासन, राष्ट्रिय हितको प्रवर्द्धन, विकासजस्ता हाम्रा राष्ट्रिय प्राथमिकताको भविष्य सुनिश्चित बनायो । तर नेताहरूका सत्तास्वार्थ र अहंकारका कारण, केवल स्वार्थी अहंकारका कारण त्यो एकता र त्यसले देखाएको सम्भावना अर्को चुनाव देख्नै नपाईकन अकालमै एकै झड्कामा गर्ल्यामगुर्लुम ढल्यो ।
अब केही दिनमा स्थानीय निर्वाचनका लागि पार्टीका घोषणापत्रहरू प्रकाशित हुनेछन् । त्यस क्रममा, नेपाली कांग्रेसले कम्युनिस्टविरुद्ध कम्युनिस्टहरूलाई नै लडाएर कांग्रेसको बहुमत ल्याउने घोषणा गर्नेछ भने कम्युनिस्टहरूले कम्युनिस्टको विरोध गरेर कम्युनिस्टको बहुमत ल्याउने घोषणा गर्नेछन् । त्यो एकता नेताका र तिनका गुटको स्वार्थको जगमा भएको हुँदा विभाजनको खतरा छ भनेर सुरुदेखि नै चिच्याउँदै आएको र विभाजनपछि पनि सार्वजनिक र औपचारिक रूपमा समेत कम्युनिस्ट आन्दोलनको पुनर्एकीकरणको पक्षमा बोल्दै, लेख्दै आएको व्यक्तिका नाताले पार्टीका रूपमा कम्युनिस्ट आन्दोलनका खतरा र सम्भावना के छन् र अहिले पनि कम्युनिस्टहरू एक ठाउँमा उभिनेबित्तिकै नेपालको राजनीतिको दिशा र गति तुरुन्तै बदलिन सक्छ भन्ने विषयमा यस लेखमा छलफल गरिएको छ ।

अपमानको आहालमा कम्युनिस्टहरू
राष्ट्रिय राजनीतिको रंगमञ्च कस्तो देखिँदै छ भने, कांग्रेस एउटा सुनौलो पालकीमा बसेको छ, केही कम्युनिस्टले पालकी बोकेका छन् र कांग्रेसले पालकी बोकेका कम्युनिस्टहरूलाई खिसिट्युरी गर्दै छ, गिज्याउँदै छ, दुत्कार्दै छ । मानौं कांग्रेस राजा नहुष हो, कम्युनिस्टहरू ऋषि हुन् । नहुषले छिटछिटो हिँड्न ऋषिहरूको काँधमा खुट्टाले घुच्याउँदै छ, ऋषिहरू लुरुलुरु पालकी बोक्दै छन् । जस्तो कि, उपसभापति धनराज गुरुङले कमरेड प्रचण्ड र माधव नेपालको मुटु हल्लिने गरी भने, ‘हात्तीका कानमा चमेराले गुँड लगाउन खोज्दै छन् ।’ त्यस्तै, महामन्त्री गगन थापाले पुरानो गिरिजासूत्रको सम्झना गर्दै भने, ‘माले–मसाले–मण्डले एकै हुन् ।’
अर्का नेता शेखर कोइरालाले संसदीय निर्वाचनमा संसद्को सुन्दरताका लागि प्रचण्ड, माधव र ओलीलाई ‘जिताइदिने’ घोषणा गरे । यो कम्युनिस्टमाथि खनिने मौसम हो भन्ने थाहा पाएपछि हूलमूलमा बटुवामध्ये कुनैले थप्यो— त्रिभुवन विमानस्थल बन्न लाग्दा कम्युनिस्टहरूले विरोध गरेका थिए । अरुण–३ को एजेन्डा तामेलीबाट निकालेर फेरि झन्डा बनाइयो । कहीँकतै कमरेड प्रचण्डले आफूले अदबका साथ पालकी बोक्दाबोक्दै दुनियाँले सुन्ने गरी अपमानित नगर्न केही गुनासो गरे । त्यसबाहेक कसैले चुँसम्म बोलेन । अर्कातर्फ, संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले संसद्मा ६ महिनादेखि नारा लगाइरहेको छ । संसद् न रोकिएको छ न चलेको छ । हिजोसम्म नेपालको इतिहासमै एक जना शक्तिशाली प्रधानमन्त्री रहिसकेका कमरेड केपी ओलीको उपस्थितिमै ६ महिनासम्म नाराजुलुस गर्दा पनि कसैले चासो राखेर ‘के हो तिम्रो कुरा’ भनेर सोधेकोसम्म छैन ।
अरू छ महिना पनि एमालेको सन्चोबिसन्चो कसैले सोध्लाजस्तो देखिन्न । आज पनि, फुटेर तीन टुक्रा भैसक्दा पनि संसद्को सबैभन्दा ठूलो दल एमाले नै हो । तर एमसीसीजस्तो मुलुकलाई प्रभावित पारेको मुद्दामा संसदीय निर्णय गर्दा कुनै सोधखोज नहुँदासमेत एमालेका अनुहारमा न कुनै आक्रोश देखियो न त ग्लानि नै । कांग्रेसी अपमानको आहालमा बसेर कम्युनिस्टहरू आपसमै गालीगलौजमा उत्रेका छन् । माओवादी जनयुद्धको प्रशस्तिमा लेखिएको दस्तावेजमा हस्ताक्षर गर्नेहरू माओवादीलाई ‘हत्यारा’ को आरोप लगाउने हदसम्म अनैतिक बन्दै छन् भने अर्कातर्फ एमालेको गौरवपूर्ण गाथामा हस्ताक्षर गरेकाहरूले एमालेलाई ‘धूलोपीठो बनाउने’ शपथ खाएका छन् । हाम्रो आँखैअगाडिका यी घटना सामान्य देखिन्छन् तर कम्युनिस्ट आन्दोलनको दारुण भविष्य बताउन पर्याप्त छन् ।
कस्तो विरोधाभास छ भने, १५ महिनाअघिको कम्युनिस्ट पार्टीलाई यथार्थ मानेर हेर्दा आजको बेहाल सपना होजस्तो लाग्छ, आजको हालत वास्तविक हो भनेर हेर्दा हिजोको सत्ता र शान सपना थियोजस्तो लाग्छ । वस्तुतः दुवै यथार्थ हुन् । हिजो कृष्णको विराट् स्वरूपले चकित अर्जुनजस्तै कम्युनिस्ट दिग्विजयलाई नेपाली कांग्रेस र बाँकी दुनियाँले हेरेको पनि साँचो हो अनि आज आआफैं फुटेर कांग्रेसलाई सत्ता बुझाएर एक थरीले सत्ताको पालकी बोक्ने र अर्का थरीले छँदाखाँदाको आफ्नो सरकार झन्डीबुर्जाको च्याँखेमा हारेर रनाहामा भौंतारिँदै हिँडेको पनि साँचो हो । रमिता कस्तो छ भने, कमरेड ओलीले कमरेड प्रचण्ड–माधवका नालायकीको भण्डाफोर गर्दै छन्, कमरेड प्रचण्ड–माधवले ओलीका नालायकीको भण्डाफोर गर्दै छन् र नेपाली कांग्रेस दुवै थरीका नालायकिको भण्डाफोर गर्दै छ । कम्युनिस्ट ‘आत्मा’ को यो हरिबिजोगबारे पार्टी सत्ताका खोपीमा छलफलसम्म भएको पनि कुनै समाचार छैन । उनीहरूलाई डुब्दै गरेको जहाजको चिन्ता छैन बरु आफ्नो बर्दीमा कुन फुली सुहाउँछ भनेर ऐना हेर्दै ठिक्क छ । राजनीतिलाई केवल निजी श्रीवृद्धिको धन्दा नठान्ने पार्टी कार्यकर्ता, सामान्य सदस्य र शुभचिन्तकहरूमा देखिने अपमानबोधको बेचैनीले गुटतन्त्रको संरचनामा कुनै प्रभाव परेको देखिँदैन । नेताहरूमा अपमानबोधको ग्रन्थि हराएको यस्तो दुर्दिन कम्युनिस्ट आन्दोलनले सम्भवतः कहिल्यै देखेको थिएन ।
यसभन्दा पहिले पनि गिरिजाकालमा कम्युनिस्टहरू अपमानित भएका थिए । कांग्रेसीहरूलाई के चिन्ता थियो भने, संसारभरि लखेटिँदै गरेका कम्युनिस्टहरू २०४७ सालको आन्दोलनको नेता हौं भनेर हाकाहाकी बाटामा हिँड्दै थिए । अर्थात्, प्रजातन्त्रको विश्वव्यापी लपेटमा कुनै पनि बेला ‘लखेटिनु’ पर्ने हेक्कै नराखीकन कम्युनिस्टहरूले गरेको चकचकी नेपाली कांग्रेसलाई असह्य थियो । अझ, तिनै कम्युनिस्टहरू प्रमुख प्रतिपक्ष बनेर संसद्मा आएका थिए । तिनै कम्युनिस्टलाई ‘प्रजातन्त्रको पाठ सिकाउन’ पुलिस र तरुण दल सँगसँगै जस्तो सडकमा थिए । पुलिससँग बन्दुक र अश्रुग्यास थियो, तरुण दलसँग लाठी र ढुंगा थिए । तिनैताका कांग्रेसले नारा लगाएको थिए— ‘माले–मसाले–मण्डले एकै हुन्’, ‘दुलाबाट निस्केर नेता बन्न पाइन्न’ आदि । अर्थात्, नेता हुने कांग्रेस मात्रै हो, कम्युनिस्ट होइन । कम्युनिस्टहरू पनि कतिपय हिसाबले केटौले थिए, प्रजातान्त्रिक अभ्यासमा पाइला टेक्दै थिए । तर उनीहरूले कांग्रेसी अपमानको राम्ररी प्रतिवाद गरे । त्यस सामर्थ्यको मुख्य कारण के थियो भने, त्यस बेला पार्टीमा पर्याप्त आन्तरिक लोकतन्त्र थियो ।
पार्टीमा एक से एक नेताहरू थिए । आफ्नो स्तरको अर्को नेतासँग नतर्सिने, ऊसँगसँगै काम गर्न सक्ने नैतिक साहस र गरिमा भएको नेतृत्व थियो । गुटहरू थिए, तर नेतृत्वले क्रान्ति र पार्टीको भविष्यलाई देखादेखी दाउमा लगाउन्नथ्यो । आफ्नै गुटको नेतालाई प्रश्न सोध्ने र असहमत हुन सक्ने वातावरण थियो । त्यस्तो मनोवैज्ञानिक स्वतन्त्रता र अधिकारले पार्टी, सिद्धान्त, क्रान्तिको भविष्यप्रति विश्वास र त्यो विश्वासले सृजना गरेको एकता थियो ।
दोस्रो, त्यो अपमान नेपाली कांग्रेसले थोपरेको थियो, त्यसले कम्युनिस्टहरूलाई एकताबद्ध बनाएको थियो । तर यो अपमान कम्युनिस्ट पार्टीका नेताहरू आफैंले थोपरेको अपमान हो । भाग्योदय चिट्ठामा पाएको सत्ताको चुलीमा बसेर आज कांग्रेसीहरूले कम्युनिस्टहरूका बारेमा जे भनेका छन्, त्योभन्दा बढी कम्युनिस्टहरूले कम्युनिस्टहरूकै विरुद्ध भनेका छन् ।
कसरी खेलियो भोरजुवा ?
हरेक राजनीतिक संगठन हरबखत आफैंभित्र अन्तरविरोधका अनेक रूप र प्रक्रियाबाट गुज्रिरहेको हुन्छ । योग्य नेताले अन्तरविरोधको समाधान संस्थागत विधिका आधारमा खोज्छ भने अयोग्य नेताले हरेक समस्याको समाधान आफ्नो निजी विवेकमा खोज्छ । निजी विवेक भनेको निजी स्वार्थ हो । यस आधारमा हेर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन, संघीय र प्रादेशिक सरकारहरूको विघटन, पुनः नेकपा (एमाले) को विभाजन र त्यस क्रममा उत्पन्न भएका अरू समस्या कम्युनिस्ट नेताका अनगिन्ती अयोग्यताका प्रत्यक्ष प्रमाण हुन् । विवाददेखि विभाजनसम्मको करिब एक वर्ष राजनीतिक मैदानमा उनीहरूले प्रदर्शन गरेका नालायक दण्डबैठकको फेहरिस्त धेरै लामो हुन्छ । तीमध्ये चारवटा मुख्य घटना यस्ता थिए जसले अरू अनेकौं घटना जन्माए, कार्यकर्ताबीच दुस्मनीको आगो लगाए अनि कम्युनिस्ट पार्टी र सरकारलाई एकपछि अर्को भीरबाट खसाले ।(सभार= कान्तिपुर )

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार