२०८० मङ्सिर २५ गते सोमवार

जनताको जीवन रक्षाको लागि बंगलाचुली गाउँपालिका द्वारा यसक्षेत्रका सिमेन्ट उद्योगको चुन्ढुङ्गा उत्खनन् कार्य स्थगन




जीवन नेपाली

दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् कार्यमा रोक लगाएको छ । गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षिय बैठकबाट घोराही सिमेन्ट उद्योग,सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य पौष एक गते देखि लागुहुनेगरी स्थगन गराउने निर्णय गरेको हो ।

#

सिमेन्ट उद्योगहरुले नागरिकको स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारमाथी वारम्बार वेवास्ता गरेको , खानी प्रभावीत क्षेत्रका नागरिक , बंगलाचुली गाउँपालिका र सिङ्गो जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णयहरु कार्वान्वयन नगरेको भन्दै चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य स्थगन गराएको हो ।

बैठकले उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्वान्वयन गरी वातावरण प्रदुषण न्युनिकरण गर्ने वातावरण तयार नपार्दा सम्म उत्खनन् र ढुवानी कार्य स्थगन गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।

नागरिक स्थरबाट पटक – पटक सिमेन्ट उद्योगले उत्पन्न गरेको समस्या समाधानका लागि आवाज उठेपनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमती अनुसार उद्योगका उत्खनन् कार्य जारी राख्न दिने तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा गाउँपालिकाले उत्खनन् स्थगन गर्नु परेको गाउँपालिका अध्यक्ष वलीले बताउनु भयो ।

बंगलाचुली गाउँपालिकाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हक र वातावरण संरक्षण ऐन २०७६ को दफा १३ बमोजिम चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य स्थगन गराउने निर्ण गरेको हो ।
यस क्षेत्रमा रहेका उद्योगहरु नागरिकमैत्री नुहुदाँ ,कानुनको पालना नगर्दा, हिजोका दिनमा प्रशासन,स्थानिय सरकार,नागरिक समाज,उद्योग प्रभावित वस्तिका नागरिकको विचमा गरेका निर्णय र सहमति कार्यान्वयन नगर्दा स्थानिय सरकारले बाध्य भएर नागरिको जिउज्यानको रक्षा,वातावरणको रक्षाका लागि यस्तो निर्णय गरीएको अध्यक्ष वलीले बताउनु भयो ।
बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् क्षेत्रबाट उद्योग सम्म चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परहरुका कारण कालोपत्रे गरेको सडक एक महिनामै तहस नहस पारी सकेको छ । अहिले घोराही मुर्कुटी प्युठान सडकमा गरेको कालोपत्रे तहस नहस भएर धुलोपिठो भएको छ भने कालोपत्रेको नामनिसानै मेटीएको छ ।

अहिले सडकमा पैदल तथा सवारी साधनमा सहज यात्रा गर्न सकिँदैन । सडक आसपासका विद्यालय, वस्तीका हजारौँ नागरिकलाई निकै सास्ति भएको छ । पशुचौपायाले खाने घाँस,सडक आसपासमा रहेका वस्तिका जमिनमा लगाएको सागपात,सुकाएको कपडामा टिप्परले उडाएको धुलोले गर्दा खान र कपडा लगाउन सकिँदैन । भने वरपरको वातावरण अत्यन्तै प्रदुषीत हुनुका साथै सयौँ टिप्परहरु चल्दा ध्वनी प्रदुषणले गर्दा नागरिक स्वास्थयमा गम्भिर असर परेको छ । बैठकमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, सिमेन्ट उद्योगका प्रमुख तथा प्रतिनिधि,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि र उद्योग प्रभावित स्थानियको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार