२०८१ माघ २५ गते शनिवार

सिटिजन्स बैङ्क कर्सिया शाखाबाट २१ लाख लुटियो, पाँच जना भारतीय फरार ,तीन जना पक्राउ



असोज २६।
सिटिजन्स बैङ्क मोरङको कर्सिया शाखाबाट २१ लाख लुटिएको छ । सोमबार सिटिजन्स बैङ्कको शाखामा लुटपाट भएको थियो । सो क्रममा २१ लाख ७० हजार लुटिएको प्रहरीले बताएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैङ्कले २१ लाख ७० हजार पाँच सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । अन्य पाँच जना भने फरार छन् । फरार भारतीय नागरिक हुन् ।
सोमबार दिउँसो आठ जनाको लुटेरा समूह बैङ्कभित्र प्रवेश गरेको थियो । लुटपाटका क्रममा लुटेरा समूहले चलाएको गोली लागेर सुरक्षागार्ड शितल कुँवर गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो लुटेरा समूहले प्रहार गरेको गोली लागेर सुरक्षा गार्ड ३७ वर्षीय कुँवर घाइते भएका हुन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ । बैङ्कभित्र दुई राउन्ड गोली प्रहार भएको थियो । सो क्रममा एउटा गोली गार्डलाई लागेको थियो । अर्काे गोली भने लुटेरा समूहका सदस्यलाई नै लागेको थियो ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार छन् । अर्का विराटनगर महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया छन् । विराटनगरका मुखिया लुटपाट योजनाका मुख्य योजनाकार हुन् ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार