२०८१ जेष्ठ २ गते बुधवार

कुख्यात अपराधी बब्लु आखीर कहाँबाट पक्राउ परे ? के छ उनको अपराधिक श्रृंखला ?



वीरगन्ज,१७बैशाखःकरिब डेढ बर्षअघि काठमाण्डौंमा भएको गोठाटार हत्याकाण्डका मूख्य योजनाकार एक भारतीय अपराधीलाई प्रहरीले वीरगन्जमा गोली हानेर नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत बिहारको रक्सौल परेबा गाँउ निवासी ४५ बर्षिय बब्लु पासवान भन्ने गणेश पासवान रहेका छन् । प्रहरीले पसवान लागू औषध कारोबारी रहेको बताएपनि उनि लागू औषधको कारोबारीसंगै २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भारतीय नागरिक लाल महम्मदको गोली हानी गरिएको हत्याकाण्डका मुख्य योजनाकारपनि हुन् ।उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।

पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार,विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार खटिएको प्रहरी टोली आइतबार राति ११ बजेतितर वीरगन्ज–१६ भुटनदेवी मन्दिर क्षेत्रमा पुग्दा पासवानसंग जम्काभेट भएको थियो । भारतीय नमबर प्लेटको मोटरसाइकलमा सवार पासवान प्रहरीलाई देखेर भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको थियो ।त्यसमध्ये एक राउन्ड गोली पासवानको बाँया खुट्टाको घुडाँमुनि लागेर घाइते भई लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरक्षिक थापाले बताए ।

घाइते पासवानलाई उपचारका लागि प्रहरीले आइतबार नै राति नारायणी अस्पतालमा लगेको थियो । त्यहाँ उपचारपछि उनलाई आइतबार राति नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

घटनास्थलमा पासवानको मेड ईन यूएस लेखिएको स्वचालित पेस्तोल १ थान, त्यसमा लाग्ने गोली दुई राउण्ड,खैरो हेरोइन ४९ ग्राम, गाँजा ८८० ग्राम र बीआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीले पासवानलाई वीरगन्ज–१६ स्थित भुटनदेवी मन्दिर क्षेत्रबाट आइतबारराति गोली हानेर पक्राउ गरेको बताएपनि उनलाई भारत रक्सौलको हरैया क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले गत शुक्रबार नै नियन्त्रणमा लिएर वीरगन्ज ल्याएको थियो ।

पासवानकी पत्नि बेबी कुमारीले आफना पति शुक्रबारदेखि नै गायब रहेको भन्दै रक्सौलको हरैया प्रहरी थानामा उजुरी दिएकी थिइन् । उनले आफना पति पासवानलाई गत शुक्रबार हरैया थानाका थानाध्यक्ष (ईन्चार्ज) अनुज कुमार सिंहले फोन गरेर प्रहरी थानामा बोलाएको र त्यहिदिन देखि पासवान गायब भएको बताएकी थिइन् ।

को हुन् बब्लु पासवान ?

पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको पर्सा प्रहरीले उनि लागू औषधको कारोबारी रहेको बताएको छ । तर पासवान लागूऔषधको कारोबारीसंगै डेढ बर्षअघि काठमाडौंको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मूख्य योजनाकारपनि हुन् ।

२०७९ असोज ३ मा गोठाटारमा मोटरसाइलमा सवार अज्ञात हतियारधारी समुहले लाल महम्मदको गोली हानी हत्या गरेका थिए ।भारतीय प्रहरीका अनुसार, पाकिस्तानी खुफिया एजेन्सी आईएसआई र दाउद इब्राहिमको ग्यांगसंगपनि जोडिएका लाल महम्मद केहि बर्षदेखि काठमाडौंको गोठाटारमा कपडाको व्यपार गरेर बस्दै आएका थिए ।

लाल महम्मदको हत्याको घटनामा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरीले २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक पनिगरेको थियो। तर उक्त हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहदै आएका थिए ।

पासवान, २०७६ जेठ दोश्रो साता वीरगन्जका उद्योगपति सुरेश केडियाँको अपहरणमापनि संलग्न थिए । त्यहि कसूरमा पक्राउ परेका पासवान वीरगन्ज कारागारमा करिब साढे २ बर्ष कैद भुक्तान गरि छुटेका थिए । त्यसयता लागू औषधको कारोबारसंगै विभिन्न व्याक्तिको अपहरण र हत्याकाण्डमा संलग्न रहदैं आएका पासवान नेपाल र भारत दुवै देशका प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार