२०८१ असोज २७ गते सोमवार

संखुवासभा हत्या काण्ड : योजना बद्द हत्या



असोज ०४।

प्रदेश नम्बर एकका प्रमुख डिआइजी  अरुण कुमार बिसीले सार्वजनिक गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन र उनको ब्रिफिङमा घटना सार्वजनिक गरिएका आरोपी लोकबहादुर कार्की एक्लैले सबै ६ जनाको हत्या गरेको दाबी गरिएको थियो।

उनले दावी गरेका थिए ‘घटनास्थलमा रहेको लासहरू रहेको फरक-फरक ४ स्थान र अभियुक्तले गरेको आक्रमणको प्रकृतिलाई हेर्दा सबै भन्दा पहिला शारीरिक रूपमा बलियो तेज बहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेको र क्रमशः तुलनात्मक रूपमा कमजोर शारीरिक अवस्थाका महिलाहरू, नाबालकहरू र वृद्धमाथि फरक-फरक स्थानमा एकै व्यक्तिले एउटै चिर्पटले हानेको देखिएको।’

घटनाको अनुसन्धानमा प्रहरीको प्रदेश तह अनि जिल्ला तहसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको एक सातामै आरोपी पक्राउ गर्दै घटनाको कारक र कारण खुलाएको थियो। चिर्पटले हानेर मारेको तर चिर्पट जलाएकाले प्रमाण छैन। हत्याको क्रममा लगाएको लुगा धोएकाले त्यो पनि प्रमाण भएन। घटना देख्ने प्रत्यक्षदर्शी खुलेका थिएनन्। प्रमाण भनेको पक्राउ आरोपीको बयान मात्रै।

आरोपीको बयान र घटनास्थलको अवस्थाबिच तालमेल मिलेको थिएन। एक व्यक्तिको मात्र हत्या भएको भए आवेशमा आएर हानेर मारे भन्न सकिने अवस्था थियो। तर २ नाबालकसहित ६ जना मारिएको थिए। शव फरक-फरक स्थानमा थियो। एकै व्यक्तिले त्यही सहजै सबैको हत्या गरेको हो त? सबैलाई चिर्पटले एक्लै हानेर मारेका हुन् त?

प्रश्न कायमै थियो।

प्रहरी अनुसन्धानमा जे खुल्यो त्यो नै अनुसन्धान सफल हुने प्रमाण हुन सक्दैन। धेरै अपराधका घटनामा प्रहरीले गर्ने दाबी झुटो प्रमाणित हुने गरेका छन्। प्रहरीले आरोपी भनिएकाको अदालती परीक्षणपछिको परिणाम नै हो अनुसन्धानलाई सफल या असफल ठहर गर्ने।

तर पक्राउ परेका एक अभियुक्तको बयानलाई नै प्रहरीले अनुसन्धान सफल भएको निष्कर्षमा पूर्यायो। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा संलग्न भन्दै डिआइजीसहितलाई पुरस्कृत गर्‍यो। त्यसको केही दिनमा प्रहरी आफैँले जुन कोणमा पुगेको अनुसन्धानलाई सफल भनेको थियो त्यो केवल घटनाको प्रारम्भिक विवरण मात्र भएको पुष्टि गर्‍यो।

प्रहरीले असोज ४ गते घटना आकस्मिक नभई नियोजित अनि चिर्पटले हानेर एक जनाले हैन समूह नै मिलेर हत्या गरेको थप विवरण सार्वजनिक गर्‍यो। त्यसमा प्रमाण थपियो अलैँची काट्ने चक्कु। प्रहरीका अनुसार त्यो चक्कु हत्यामा प्रयोग भएको थियो।

हत्याका मुख्य योजनाकार पनि फेरिए। हत्याको प्रकृति पनि बदलियो। कारण भने लगभग मिल्यो। आरोपी एक हैन पाँच पुगे।

अपुरो अनुसन्धान तर सफल भएको दावी

२५ वर्षका लोकबहादुर एक्लैले सबै हत्या गरेको दाबी गर्दै डिआइजी बिसीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा उसैले हत्या गरेको पुष्टि गर्न भनिएको थियो’ अभियुक्त वेला-वेला आक्रोशित हुने नजिकमा रहेकाहरूलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने, राति नसुत्ने र एक्लै हिँड्ने र घरमा निजको बुबा र कान्छा भाइसँग झैझगडा गर्ने स्वभावको रहेको।’

अन्य विवरण यस्ता थिए :

अभियुक्त वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१४ र २०१९ मा २ पटक कतार र सन् २०१६ मा १ पटक मलेसियामा काम गर्न गएकोमा पछिल्लो पटक स्वास्थ्यमा समस्या आई केही महिना पश्चात् काम गर्न नसकी फर्की आएको।

– अभियुक्तको बुबा कान कम सुन्ने, बोली लटपटिने र तुलनात्मक रूपमा कमजोर आर्थिक अवस्थाको रहेको र मर्ने वेलामा निजको बुबाले मृतक तेज बहादुरलाई रेखदेख गरिदिन भनेकोले मृतक तेज बहादुर कार्की अभियुक्त घरमा बेला बेलामा सम्झाउने, काम अह्राउने र काम नगर्दा किन काम नगरेको, तँ पागल अल्छी, काम पनि गर्दैनस् भनी हप्काउने गरेको। जुन कुरा अभियुक्त लोक बहादुर कार्कीले गम्भीर रूपमा मनमा लिएको साथै पटक पटक विदेश जाँदा पनि कमाउन नसकेको, विदेश जाँदाको ऋण र आमाको उपचार र क्रिया खर्च समेत भएको जग्गा बेची तिरेको जुन कुराले अभियुक्तलाई हिनतावोध गराइरहेको।

– घटनाको दिन मृतक तेज बहादुरको घर देखि १ घण्टा पैदल टाढा मादि नपा वडा नं. ३ पिप्लेमा रहेको खेतमा गाउँबाट खेताला लग्ने कार्यक्रम रहेकोमा रण बहादुरको घरबाट अभियुक्त लोक बहादुर कार्की र निजको भाइ नरेश कार्की समेत २ जना जाने कार्यक्रम रहेको। घटनाको प्रकृति र घटनास्थलको विश्लेषण गर्दा पटक पटकका कुराहरूले मृतक तेज बहादुरप्रति अत्यधिक घृणाको भावना विकाश भएको र घटनाको अघिल्लो रात छटपटी भई नसुती विक्षिप्त मानसिक अवस्थामा रहेकोले घटना घटाएको पाइएको।

कार्की परिवारको घर

– अभियुक्तको बयान अनुसार मिति २०७८।०५।२० गते रातको समयमा निजलाई रात भर निन्द्रा नलागी छटपटी भई बसेको र मिति २०७८।०५।२१ गते बिहान निजको भाइ गाईलाई खोले पकाई, निजको बुबा र भाइ चिया पिई घाँस काट्न गएको, अभियुक्त एक्लै घरमा रहेको र सोही क्रममा बिहान मृतक तेज बहादुर कार्की अभियुक्तको घर तर्फ आएको खेताला कन्फर्म गरी फर्कने क्रममा रातभरको अनिदो र विक्षिप्त अवस्थामा रहेको र आफूलाई पटक-पटक पागल र काम गर्न नसक्ने भनी भनेको कुरा सम्झी यही नै उपयुक्त समय ठानी रिसको झोकमा नजिकै रहेको दाउराको घरवाट चिर्पट निकाली पछ्याउँदै नजिकैको वारिको डिलमा रहेको गोगनको बोट नजिक चिर्पटले पछाडिबाट टाउकोमा पटक-पटक प्रहार गर्दा निज तेज बहादुर ढली अनियन्त्रित भई भिरालो जमिनबाट लडी तल बाटोमा पुगी धर्मराउदै ‘लोकेले मलाई मार्‍यो’ भन्दै उठ्न खोज्दा पुन टाउकोमा प्रहार गरी घोप्टो पारि लडाएको।

 -तेज बहादुरले हारगुहार गरेको आवाज सुनी निजको श्रीमती कमला र बुहारी रञ्जना समेत घटना भएतर्फ आएकोमा अभियुक्तले निजहरू समेतले थाहा पाएको ठानी निजहरूतर्फ गई कमला भन्ने मनमाया कार्कीलाई खोल्सिमा भेटी सोही चिर्पटले २/३ पटक प्रहार गर्दा रन्थनिएर बाटोबाट खोल्सिमा खसेको र सोही क्रममा कमलामाथि प्रहार भएकोदेखि मृतक रञ्जना बेहोस जस्तो भई भुईँमा ढली उठ्ने क्रममा निजलाई समेत टाउकोमा पटक पटक प्रहार गरी सासू लडेकोतर्फ हुत्त्याइ दिएको। घर नजिक बाटो डिलमा आएका २ जना नाबालकहरू दिपेन र गोमालाई अभियुक्तले देखि लखेटी हत्या गरेको।

 मृतकको घरतर्फ गई घर पछाडि खोले पकाउने ठाउँमा पार्वता कार्कीलाई भेटी कपालमा समाती भित्तामा टाउको-पटक पटक ठोक्काई हत्या गरी घर फर्की घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हाली वालि नष्ट गरेको।

 घटनास्थलमा रहेको लासहरू रहेको फरक फरक ४ स्थान र अभियुक्तले गरेको आक्रमणको प्रकृतिलाई हेर्दा सबै भन्दा पहिला शारीरिक रूपमा बलियो तेज बहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेको र क्रमशः तुलनात्मक रूपमा कमजोर शारीरिक अवस्थाका महिलाहरू, नाबालकहरू र वृद्धमाथि फरक फरक स्थानमा एकै व्यक्तिले एउटै चिर्पटले हानेको देखिएको।

तर यो त अति आंशिक मात्र रहेको उसैको पछिको अनुसन्धानले खुलायो। आरोपी पाँच जना देखियो। घटनाको योजनाकार देखिए वर्ष ४७ को खड्ग बहादुर कार्की। यदि प्रहरीले पहिलो आरोपीको बयानलाई विश्वास गरेर जसरी पत्रकार सम्मेलन गरेको थियो त्यही अनुसार अभियोजनतिर लागेको भए हत्यामा संलग्नहरूले जे योजना बनाएका थिए त्यो सफल हुने रहेछ।

प्रहरीको विवरणमै छ’ यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केको।’

पहिलो चरणमा भयो पनि त्यही। प्रहरीले लोकबहादुरमाथि शङ्का गरे। पक्राउ पनि परे। र उसले सबै एक्लैले गरेको हो भनेर बयान दिए। प्रहरीले पत्यायो। अनुसन्धान सफल भयो भनेर पत्रकार सम्मेलन गर्दै भन्यो’ लोकबहादुर एक्लैले हत्या गरेका हुन्।’

तर घटना त त्यस्तो रहेनछ।

हत्यामा देखिए वर्ष ४७ को खड्ग बहादुर कार्की ,  खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की ,वर्ष ४९ को रण बहादुर कार्की , उनको छोरा वर्ष १७ को नरेश कार्की र लोकबहादुर कार्की।

मोबाइल र पोस्टमार्टम रिपोर्टले झस्कियो प्रहरी

प्रहरीले साउन २७ गते पत्रकार सम्मेलन गर्दासम्म लोकबहादुरले चिर्पटले हानेर सबैको हत्या गरेको दाबी गरिएको थियो। ८४ वर्षीय पार्वती कार्कीको हत्या सम्बन्धमा मात्र भित्तामा टाउको ठोक्काएको उल्लेख थियो।

तर पछि पोस्टमार्टम रिपोर्टमा भने केही मृतकको शरीरमा धारिलो चक्कुले काटेका निसानहरू समेत फेला परे। यसले केवल चिर्पटले मात्र हानेर मारेको हैन भन्ने पुष्टि भयो। अनि एकल व्यक्तिको योजनामा मात्र यो सामूहिक हत्या घटना भएको हैन भन्ने पनि देखाए। त्यसपछि प्रहरी पुन अनुसन्धानमा केन्द्रित भयो।

प्रहरीको दोस्रो प्रतिवेदन अनुसार पहिला चिर्पटले हानेपछि हस्तबहादुरले तेजबहादुरलाई चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेका थिए।

घटनाको वेला मृतकले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै कराएपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरकी श्रीमती र बुहारी घटनास्थलतिर आएपछि हस्त बहादुरले कमलाको घाटीमा छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेर खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिली हत्या गरेको।

रण बहादुर र नरेशले मृतक रञ्जना र कमलाको शव एकै ठाउँमा लगेर राखेको। घटनाकोवेला  नाबालक दिपेन र गोमा घर नजिकको बाटोमा आएपछि हस्त बहादुर र लोक बहादुरले बाटो छेकेर मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काएर घाटी बटारेर हत्या गरेको।

पाँचै जना आरोपीहरू कार्की परिवारको घर गएर मकै नङ्ग्याइ रहेको अवस्थामा ८४ वर्षीय पार्वती कार्कीलाई हस्त बहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेर टाउको भित्तामा ठोक्काई, घाटी बटारी हत्या गरेको।

मोबाइलमा लोभिँदा पोल खुल्यो

दोस्रो चरणको अनुसन्धानलाई अलि विस्तृत बनाउन मृतक रञ्जनाको मोबाइलले सघाएको थियो। रञ्जनासँग श्रीमान्ले दिएको ओप्पो मोबाइल थियो। ओप्पो देखेर लोभिएका नरेशले मोबाइल छाड्न चाहेनन्। मोबाइल बोकेर स्विच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाए। घटनाका अन्य आरोपीलाई यसबारे थाहा थिएन।

प्रहरीले एक्लैले हत्या गरेको भन्दै दाइलाई पक्राउ गरेर लग्यो। अनुसन्धानका लागि आएका प्रहरी पनि फर्किए। सञ्चारकर्मीको भिड पनि हरायो। सबैले लोकबहादुरलाई गाली गर्न थाले। प्रहरीले पत्रकार सम्मेलन गरेर लोकबहादुर एक्लैले मारेको भन्यो।

सबै योजना अनुसारै लोकबहादुर मात्रै फस्यो भनेर बाँकी आरोपी ढुक्क भयो। प्रहरीले आइएमइआइ नम्बरको आधारमा हराएको रञ्जनाको मोबाइललाई डिजिटल सर्भिलेन्समा राखेको जानकारी नपाएका नरेश ओडारमा गएर मोबाइल लिए। अन गरेर आफ्नो नम्बर हाले। हराएको रञ्जनाको मोबाइलमा नरेशको नम्बर देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार सुरु गर्दा बाँकी आरोपीहरू पनि खुले।

अझै छ शङ्का

प्रहरीले दोस्रो चरणमा जे जति विवरण सार्वजनिक गरेको छ त्यो पहिलो अनुसन्धान विवरणको तुलनामा अलि फराकिलो छ। तै पनि शङ्का रहित भने छैन।

घटना घट्नुका कारण व्यक्तिगत रिसइवी मात्र देखिन्छ। त्यो पनि गाली गरेको रिस। प्रहरीका अनुसार खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौच गर्ने र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको उल्लेख गरेको छ।

लोक बहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भईस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाइ हत्या गरेको प्रहरीको दाबी छ।

तर घटना विवरण खुलाउनेक्रममा प्रहरीले धनमाल समेत लाने योजना रहेको उल्लेख गरेको छ। प्रहरीकै दाबी अनुसार धनमाल हराएको छैन।

प्रहरीले लेखेको छ’ योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको।’

धनमाल लैजाने योजना हो भने उनीहरूले घरमा भएको आठ लाख नगद किन लगेनन्? तीन मृतक महिलाको गहना किन लगेनन्?, घरभित्र धनमाल खोजे कि खोजेनन्?

यी अझै खुलेको छैन।

योजना एक जनाको हत्याको मात्र बनाएको तर अन्यले देखेपछि सबैको हत्या गरेको भनिएको छ। तर घटनाको चालै नपाएकी वृद्ध जो गोठ नजिकै मकै छोडाएर बसेकी छिन् उनको हत्या भएको छ। घरभित्र रहेका अर्का वृद्ध बुद्धबहादुरलाई भने उनीहरूले केही गरेका छैनन्। यसको विश्वासिलो आधार र विवरण अझै खुलेको छैन।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार