२०८० असोज १७ गते बुधवार

बसको अग्रिम टिकट असोज दश देखि खुलाउने तयारी



असोज १।
सरकारले दसैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही असाेज १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ।

यही असोज २१ गते घटस्थापनाभन्दा १०-११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ। यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ।
अग्रिम टिकट खुलाउन पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

उनका अनुसार गतसाता यातायात व्यवसायीसँग दुई-तीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउने भनी निर्णय हुने छ । प्रवक्ता भुसालले भने, ‘समयमै टिकट काटेर यात्रु घर जान सक्ने छन् ।’

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन्। व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन्।

भाडा समायोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा. भुसालले बताए। उनका अनुसार लामो दुरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दुरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिने छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार