२०७९ मङ्सिर ९ गते शुक्रवार

दाङमा बहुला कुकुरले २६ जना भन्दा बढिलाई टोक्यो




तुलसीपुर, २४ भदौ ।
दाङमा बहुला कुकुरले एकै दिन २६ जना भन्दा बढिलाई टोकेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ भमके, अस्वारालगायतका क्षेत्रमा एकैदिन कुकुरले टोकेको हो । आज(विहीबार) विहान ११ बजेदिखि साँझसम्म पनि कुकुरले टोकेका विरामीहरु आउनेक्रम जारी रहेको राप्ती प्रादेशिक अस्पतालका फार्मेसी प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । “दिउसो ७÷८ जना आउनु भएको थियो, अहिलेसम्म २६ जना भन्दा बढि आईसक्नु भएको छ,”, उहाँले भन्नुभयो“ अझै पनि त्यस्ता विरामी आउनेक्रम जारी छ ।”

बहुला कुकुरले टोकेको भएर विरामीहरुलाई ‘आरआईजी’ खोप लगाउनु पर्छ । तर, त्यो खोप अस्पतालमा छैन । २४ अ‍ै घण्टा भित्र त्यो खोप लगाईसक्नु पर्ने उहाँले बताउनुभयो । बुटवल, नेपालगञ्ज काहीँ पनि त्यो खोप नपाईएपछि विरामीलाई काठमाडौं पठाउन थालिएको उहाँले बताउनुभयो । “बुटवलमा पनि त्यो खोप रहेनछ, नेपालगञ्ज पनि रहेनछ, त्यसकालागि काठमाडौं नै पठाउनु पर्छ”, उहाँले भन्नुभयो “चारजनालाई त अघि नै पठाईसक्यौँ, बाँकीलाई पनि अब पठाउने तयारी छ ।” टेकुमा त्यो खोप निःशुल्क लगाईने भएकाले त्यही पठाउन लागिएको अधिकारीले बताउनुभयो ।

सामान्य कुकुरले टोकेपछि एआरबी खोप लगाएपनि हुने तर, बहुला कुकरले नै टोकेकाले आरआइजी खोप पनि लगाउनु पर्ने उहाँले बताउनुभयो । एकै पटक धेरै ठाउँका व्यक्तीलाई टोकिरहेको भन्दै त्यो कुकुरलाई तत्काल नियन्त्रणमा लिएको भए त्यो समस्या नआउने समेत उहाँले बताउनुभयो । “एकैपटक ८ जनालाई टोकेको बेला नियन्त्रणमा लिएको भए अरुलाई टोक्न पाउन्थेन”, उहाँले भन्नुभयो “तर, त्यसलाई नियन्त्रणमा नलिदा त्यो कुकुरले टोक्दै हिडिरहेको छ ।”

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार