
दाङ भाद्र १५ –
थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाएका छन् । व्रतालुहरूले आफूले खानुअगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रूपमा दिने चलन जसलाई थारु भाषामा ‘अग्रासन’ भनिन्छ ।
विवाहित छोरीचेलीका लागि ‘अग्रासन’ अति नै महत्वपूर्ण मानिने थारु अगुवा बताउछन् । बिबाहित छोरीचेलीहरू आजको दिन माइतीको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन बिबाहित चेलीहरुका लागि अतिनै महत्त्व रहेको हुन्छ ।
अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, गेडागुडी, माछामासु लगायतका परिकार रहने अगुवा चौधरीले बताए । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरू आज बिहानै नुहाइधुवाई अन्नसहित मिठा/मिठा खानाका परिकार खाने गर्दछन् । माइतीबाट ‘अग्रसान’ दिन आएकाहरुलाई विवाहित छोरीचेलीले सम्मान गर्दै उनीहरूलाई समेत मिठामिठा खानेकुरा खुवाउने चलन रहेको बताइन्छ ।