२०८१ असार १२ गते मङ्गलवार

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फिर्ता, २ जना अफगान नागरिक पनि काठमाडौं ओर्लिए



तालिवानले एकपछि अर्को राज्य कब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि अफगानिस्तानबाट नेपालीहरू स्वदेश फिर्ता भइरहेको बताए ।‘उहाँहरू आइरहनुभएको छ, तर हामीले उता भने जान दिएका छैनौं,’ महानिर्देशक भट्टराईले भने ।अफगान नागरिकलाई भित्रिन नदिने भन्ने कुनै नीति वा निर्णय नरहेकाले उनीहरू पनि भित्रिएको हुनसक्ने भट्टराईको भनाइ छ ।

‘कोभिडका कारण विदेशमा रहेका नेपाली, एनआरएन र कूटनीतिक नियोगका व्यक्तिहरूलाई आउन दिने भन्ने छ, त्यसको मापदण्डभित्र पर्ने भएकाले आउनुभएको हुनसक्छ, तर त्योभन्दा बाहिरका आउनुभएको छैन,’ महानिर्देशक भट्टराईले भने ।अफगानिस्तानको राजधानी काबुलमा समेत तालिबानले कब्जा जमाइसकेको । त्यहाँ रहेका सयौं नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।केहीलाई भने उनीहरू कार्यरत कम्पनी वा नियोगहरूले नै दुबई, कतार लगायतका मुलुकमा लगेर छाडेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार