२०८१ असोज २८ गते मङ्गलवार

फेरियो इजरायल जाने प्राबधान



वैदेशिक रोजगारीको लागि इजरायल जाने प्रावधान फेरिएको छ । नयाँ प्रावधानमा इजरायल जान ६ महिना म्याद भएको राहदानी भएकाहरुले पनि आवेदन दिन पाउनु व्यवस्था गरिएको छ । यसअघि इजरायल जानको लागि इच्छुकले आवेदन दिँदा ३ वर्ष म्याद भएको राहदानी हुनुपर्ने प्रावधान थियो । तर अहिले त्यसलाई संशोधन गरेर ६ महिना समय भएकाहरुले पनि आवेदन दिन पाउने व्यवस्था राखिएको हो ।

जिटुजीमार्फत रोजगारीको लागि इजरायल जान वैदेशिक राेजगार विभागले साउन १२ देखि २१ दिनको समय तोकेर आवेदन माग गरेको थियो । इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर) मा नेपाली श्रमिक पठाउनका लागि आवेदन माग गरिएको विभागले जनाएको छ । रोजगारी गर्न इच्छुक महिला तथा पुरुषले आवेदन दिन सक्ने विभागले उल्लेख गरेको छ ।

पहिलो चरणमा १ हजार जनाले इजरायलमा रोजगारीका लागि जान पाउने वैदेशिक राेजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनु भयो । महानिर्देशक दवाडीका अनुसार भाषा परीक्षामा १ हजार ४ सय जना उत्तीर्ण र त्यस मध्ये १ हजार जनाले मात्रै जान पाउने छन् । भाषा परीक्षा पास भएका ४ सय जना भने तत्काल इजरायल जान पाउने छैनन । १ हजार मध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने विभागले जनाएको छ । विभागका अनुसार अंग्रेजी माध्यमबाट हुने परीक्षापछि इजरायल जान प्रतिव्यक्ति १ लाख ६५ हजार रुपैयाँ मात्र लाग्नेछ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार