
विश्वमा आज (बुधबार) बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० करोड नाघेको छ ।
विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाबाट हालसम्म २० करोड एक लाख ९७ हजार आठ सय ८३ सङ्क्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ८८ हजार एक सय ५३ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या २० करोडबाट उकालो लागेको हो । विश्वमा केही दिनयता दैनिक तीन लाखभन्दा बढी सङ्क्रमित थपिँदै छन् ।
सङ्क्रमण पुष्टि भएकामध्ये १८ करोड चार लाख ८५ हजार तीन सय २७ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन चार लाख ४४ हजार चार सय ६६ जना कोरोनामुक्त भए । एक करोड ५४ लाख ५४ हजार सात सय १८ जनको उपचार जारी छ ।
उपचारतमध्ये ९२ हजार दुई सय ७१ जनाको अवस्था चिन्ताजनक छ । विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण नौ हजार तीन सय २४ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४२ लाख ५७ हजार आठ सय ३८ पुगेको छ ।
विश्वमा केही दिनयता सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । महामारी उत्कर्षमा पुगेका बेला विश्वभर दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दैनिक १४ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।
पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख थियो । दैनिक सङ्क्रमण तीन लाख हाराहारीमा झरिसकेको थियो । मृत्यु पनि तीन हजार हाराहारीमा आइसकेको थियो ।
तर विश्वभर बेवास्था गर्दै लापरबाही गर्ने क्रम बढेसँगै अहिले आएर फेरि सङ्क्रमण बढ्न थालेको छ । अहिले एक दिनमा छ लाखसम्म सङ्क्रमित थपिन थालेका छन् । नौ हजारभन्दा बढीको मृत्यु हुन थालेको छ ।
पछिल्लो समय बढ्दो सङ्क्रमणले विश्वमा कोरोना महामारीको तेस्रो भेरियन्ट सुरु भएको आशङ्का गरिएको छ । दैनिक बढ्दो अवस्थामा रहेको सङ्क्रमण र मृत्यु दरले विश्वलाई नै चिन्तित बनाउन थालेको छ । विश्वमा कोरोनाविरुद्धको खोप कार्यक्रमलाई पनि तीव्रता दिइएको छ ।