२०८२ बैशाख ४ गते शुक्रवार

देशभरका १४ हजार केन्द्रमा पुग्यो निःशुल्क इन्टरनेट



दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि बढाएको ब्रोडब्याण्ड इन्टरनेट देशका १४ हजारभन्दा बढी केन्द्रमा पुगेको बताएको छ । असार मसान्तसम्मकाे प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले यसबारे जानकारी दिएकाे हाे ।

प्रतिवेदनमा ६० जिल्लाका १४ हजार २१८ केन्द्रमा निःशुल्क इन्टरनेट पुगिसकेको उल्लेख छ । देशैभरका सार्वजनिक निकायमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त परियोजनाअन्तर्गत अन्य १० जिल्लामा ५० प्रतिशतभन्दा बढी काम भएको छ ।

त्यस्तै थप ४ जिल्लामा तोकिएबमोजिम नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवाप्रदायक छनोटको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

कूल पाँच अर्ब ६७ करोड रुपैयाँ लगानी अनुमान गरिएको परियोजनाअन्तर्गत स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट जडानको काम भइरहेकाे छ ।

प्रगति विवरणअनुसार हालसम्म ७०२ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान भइसकेको छ । त्यस्तै पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार २२५ माध्यमिक विद्यालय र चार हजार १२२ स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम पुरा भएको छ ।

कूल १८ प्याकेजमा विभाजन गरिएको परियोजनाअन्तर्गत १५ हजार ९८२ निकायमा इन्टरनेट विस्तार गर्ने लक्ष्य राखिएको छ । जसमध्ये हालसम्म १४ हजार २१८ अर्थात लक्ष्यको ९४.४४ प्रतिशत निकायहरूमा इन्टरनेट जडान भइसकेको छ ।

जहाँ जडान सम्पन्न भएको मितिले दुई वर्षसम्म निशुल्क इन्टरनेट उपलब्ध हुनेछ । त्यसपश्चात् भने प्राधिकरणले तोकेको शुल्क बुझाएर सेवाप्रदायकमार्फत इन्टरनेट प्रयोग गर्न सकिने छ ।

प्राधिकरणले काम सम्पन्न भएका जिल्लामा मापदण्डअनुसार काम भए/नभएको अनुगमनलाई पनि सँगै अघि बढाएको छ । प्राधिकरणका अनुसार हालसम्म ६ परियोजनाको मनिटरिङ तथा भेरिफिकेसनको काम सम्पन्न भएको छ ।

त्यस्तै दुईवटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणको प्रमाणीकरणको काम भइरहेको छ । त्यस्तै दुई वटा परियोजनामा दोस्रो चरणको प्रमाणीकरणको काम भइरहेको जनाइएको छ ।

यो परियोजनाका लागि ग्रामीण दूरसञ्चार विकास कोषबाट विनियोजित बजेटमध्ये हालसम्म तीन अर्ब ३८ करोड ८७ लाख रुपैयाँ सेवाप्रदायकलाई भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार