
आयरल्याण्ड ‘ए’सँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालले खराब प्रदर्शन गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २२५ रनको विशाल लक्ष्य पाएको छ।
पूरै २० ओभर ब्याटिङ गरेको आयरल्याण्डले ६ विकेटको क्षतिमा २२४ रन जोडेको हो। आयरल्याण्डको विस्फोटक ब्याटिङमा पिटर मुर र क्याप्टेन निल रकले अर्धशतकीय पारी खेले। पिटरले २६ बलमै ६५ रनको योगदान गर्दा क्याप्टेन निलले ३४ बलमा ७१ रन जोडेर नटआउट रहे।
यसैगरी, जेम्स म्याककोलमले २६, फियोन ह्याण्डले १९ (नटआउट), रोस अदैर १७, ग्यारेथ डिलेनी १० रन जोड्दा स्टिफन दोहिनी चार र केड क्यारमिकेल एक रन बनाएर पेभेलियन फर्किए।
नेपालका सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक–एक विकेट लिए। आजको खेलमा नेपाली ब्याटरहरु निकै महँगो साबित भए। दुई ओभर बलिङ गरेका पवन सर्राफले ३४ रन खर्चिए भने दुई ओभर नै बलिङ गरेका आरिफ शेखले पनि ३३ रन दिए।