२०८१ बैशाख ९ गते आइतवार

दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल टिम ‘ए’ २ विकेटले विजयी



फाल्गुन ८ मूलपानी क्रिकेट मैदानमा भएको क्यानडा एघारसँगको खेलमा नेपालले जितका लागि २ सय ४१ रनको लक्ष्य पाएको थियो ।

खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर नेपाल टिम ‘ए’ ले लक्ष्य भेट्टायो ।

यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको छ । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ‘ए’ टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार