
माघ १४, दाङ/ १८ स्वर्ण पदकसहित गुरु जजुर मा.वि रक्षाचौर तुल्सीपुरले उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको छ । गुरु जजुर नमुना मा वि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको छ। गुरु जजुर नमुना माध्यमिक विद्यालयले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, शिक्षा अधिकृत चक्र भण्डारी लगायत अन्य अतिथिहरुले विभिन्न विद्यालयहरुका विजेता खेलाडीहरुलाई पदक सहित प्रमाणपत्रहरु प्रदान गर्नुभएको थियो।

गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर दाङले सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने ६ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्ने ज्ञानज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुलाई ट्रफी तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले वितरण गर्नुभएको थियो। ६ स्वर्ण, ७ रजत र ११ कास्य पदक हासिल गर्ने सेन्टर माध्यमिक विद्यालय तुल्सीपुरले सान्त्वाना स्थान हासिल गरेको थियो।

उद्घाटन समारोहमा शिक्षक, विद्यार्थीसहित ३९ विद्यालयहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा मार्च पास तर्फ गुरु जजुर प्रथम भएको थियो साथै कला संस्कृतिका हिसाबले सप्तरंगी विद्यालय प्रथम र अनुशासन तर्फ हिमाल एकाडेमी प्रथम हासिल गर्न सफल भएका थिए।
उद्घाटन सत्र लगत्तै सुरु गरिएको खेलमा एथलेटिक्सतर्फ त्रिपल जम्प, विभिन्न दुरीका दौडहरु लगायत भलिबल, कबड्डी खेलहरू सञ्चालन भएको थियो।

यसैगरी आगामी छैठौँ तुल्सीपुर उपमहानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माध्यमिक बिद्यालयले आयोजना गर्ने जानकारी दिइएको थियो।

तुल्सीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य साथै गुरु जजुर विद्यालयका वि.व्य.स अध्यक्ष लोकमणि पोखरेलको सभाध्यक्षतामा विभिन्न अतिथिहरुको उपस्थितिसहित सुरु गरिएको समापन सत्रको कार्यक्रममा ट्रफि साथै प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको समापन सभाध्यक्ष वि व्य स अध्यक्ष लोकमणि पोखरेलले गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन शिक्षक प्रमोद कुमार न्यौपाने र लेवेन्द्र के. सीले गर्नुभएको थियो।
