२०८२ बैशाख ५ गते शनिवार

त्रिवेणी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



रोल्पा, २०८०पुस २३

त्रिवेणी गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि छैठौं  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । त्रिवेणी गाउँपालिका ५ मा रहेको श्री जनजागृति माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय ईस्वरी घर्तीले दिप प्रज्वलन गरेर तथा ब्यानर पढेर गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य घर्तीले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभयो । खेलाडिहरुको आत्मबल बढाउदै समाज,स्थानीय तह तथा सरकारले खेल र खेलाडिको क्षमता अभिवृद्वि गर्न जोड दिनुभयो । घर्तीले जिल्लामा खेलकुदको विकास गर्नका आफू लागि परेको बताउदै आगामि दिनमा आवश्यक सहयोग समन्वय तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले  खेलकुद तथा खेलाडि उत्पादनमा गाउँपालिका लागि परेको बताउनुभयो । खेलमा आकर्षण बढाउन गाउँपालिकाले आफ्नै लगानीमा ब्यवस्थित खेलमैदान निर्माण गरी समय समयमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता संचालन गर्न प्रतिबद्ध रहेको  बताउनुभयो । 

प्रतियोगितामा छात्र,छात्रा गरि जम्मा ६६ विधाका खेलको आयोजना गरिएको त्रिवेणी गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख लिला घर्ती मगरले जानकारी दिनुभयो । प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागीता रहेको उहाँले बताउनुभयो ।

‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराको साथ आयोजना भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुन, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती , त्रिवेणी गाउँपालिका निवर्तमान अध्यक्ष शान्त कुमार वली , ७ वडा जन निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सञ्चार माद्याममा आवद्ध पत्रकार, आमा समूह, झाँकी समूह, त्रिवेणी गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मि, सुरक्षाकर्मि लगायतको उपस्थिती रहेको थियो । भने पुष २३ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २५ गते सम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार