
भदौ २७ ::::::::: बुवा काे माया सद्भाव: गोविन्द भुसाल (मनास्लु मेडिकल हल) तुल्सिपुर दाङ
सुरु;::::यो छोरा बढ्ला कमाइ गर्ला दुधभात देला मलाई बुढो भइ बसौंला पलेटी कसौंला आशिष दिउँला तलाई भनेर हरेक आमाबाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गर्दै खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, गरेर राख्लान भन्ने आशा माया जो सुकै आमाबुबालाई हुन्छ । बुबाको हात समातेर तोतेबोली बोल्दै लरबरिएका पाइला चाल्दै अगाडि बढेका जुनसुकै छोराछोरीको दायित्व आफू ठूलो भएपछि वृद्धावस्थामा पुगेका बुबाआमाको सेवा सत्कार र सम्मानसँगै बुढेसकालको सहारामा अर्पण गर्न सक्नुमा पर्दछ कर्तव्यको यो जीवन स्वरुपमा बुबाआमाको महत्व धेरै छ । एउटा बच्चाले सफा र फोहर जान्दैन, लगाएको लुगामै पनि दिशापिसाब गरिदिन्छ र ती सबै फोहरहरुलाई सफा गर्दै बुबाआमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुबाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो आमाबुबा प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।
आजको दिनलाई कुशे औंशी, पितृतर्पणी औंशी तथा गोकर्णी औंशीका रुपले चिनिन्छ । औशीका दिन अर्थात् बुबाको मुख हेर्ने दिन बुबाको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, सहितका मिठामिठा परिकारसँगै कपडा आदि उपहार दिने तथा परदेशमा हुने छोराछोरीले फोनबाटै भए पनि कुरा गरी सम्मान सद्भाव प्रकट गर्दछन् र आर्शीवाद लिने चलन छ त्यस्तै भौतिक रूपमा अस्त भइसकेका बुबाहरुलाई छोराछोरीहरूले शक्तिपीठ तथा पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरेर सम्झना गर्ने चलन छ । आमा धर्ती हुन् भने बुबा आकाश हुन् । तरपनि जति आमाको बारेमा व्याख्या हुन्छ, जति महत्व दर्शाउछौँ बुबाको कमै देखिन्छ । धार्मिक शास्त्रहरूमा पनि आमाको महत्व र महिमा जति गाइएको पाउछौं त्यति बुबाको पाउँदैनौं । हाम्रो जीवन सजाउन दिनरात नभनी अहोरात्र खटेर हामीलाई कर्म दिने तथा सुरक्षा दिने बुबाको मुख हेर्ने दिन आज । सन्तानका लागि कति प्रिय र मूल्यवान् शब्द बुबा, सन्तानलाई संघर्ष गर्न सिकाउने बुबा, घर खर्च र सन्तानको खुशीका लागि अनि परिवारमा सुख दिन लागिपर्ने वृद्ध बुबा, सन्तानको खुशी नै आफ्नो सफलता र आफ्नो जीवनी सम्झने उही बुबा, हो उनै बुवाको आफ्नो परिवार, समाजप्रति देखाइएको दायित्व र योगदानलाई कम मूल्यांकन गरिँदैछ आज ।