भदौ २२
कपिलवस्तुको विजयनगर गाउँपालिकाका बस्तीमा नदी कटानले समस्या निम्त्याएको छ । पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
नदी कटानले ७ सय बिघा खेतीयोग्य जमिन उच्च जोखिममा छ । चिराई नदीले वडा नम्बर २ मा चिराई नदीले लोहरौलाको छिटहनीमा एक सय ५० मिटर र दौवानमा दुई सय ५० मिटर जमिन कटान गरेको छ । वडा नम्बर १ सेमरीमा चिराई र विशवा खोलाको दोभानले कटान गरी दुई सय ५० मिटर बस्तीतर्फ छिरेको अनुगमनको क्रममा देखिएको अध्यक्ष थापाले बताउनुभयो । चिरई नदीले कटान गर्दा आधारभूत विद्यालय थरौली समेत जोखिममा परेको छ ।
नेपाल भारत सीमामा पर्ने अर्रा नदीले अन्दाजी पाँच सय बिघा वन क्षेत्र (गौतमबुद्ध साझेदारी बन) कटान गरेको छ । नयाँ बस्ती–तीनघरेको बीचका पाँच बस्ती प्रभावित भएका छन्। जसका कारण नौसहरा, वीरनगर, अमृतडिहवा, नयाँबस्ती र तिनघरे गाउँ जोखिममा छन् ।
जलस्रोत तथा सिँचाइ विकास कार्यालयका डिभिजन प्रमुख पुरुषोत्तम उपाध्यायले नदी कटानले उच्च जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माणको योजना निर्माण गर्ने बताउनुभयो। वर्षातको सिजन सकिए लगत्तै आवश्यक प्रक्रिया पुर्याएर तटबन्ध निर्माणका विभागसँग समन्वय गरिने बताइएको छ । स्थानीय सरकारसँग साझेदारी गरी तटबन्ध निर्माण गरिनेछ ।