
फागुन ३०
दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो।
उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले एक लाख ५७ हजार आम्दानी गर्दै आएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए। यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।
उपमहानगरपालिकाले आफूले उठाएको करिब ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताएका छन् । दुई करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा पाँच हजार पाँच सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ ।