२०७९ माघ १७ गते मङ्गलवार

मेरो बुवाआमालाई लाग्छ..!



रोशन क्षेत्री/ म घरको चुलोमा आनन्दले बसिरहेको थिएँ । मेरो आँखा कै अघिल्तिर बुवा भने तरकारी पकाउदै हुनुहुन्थ्यो । म ले सोचेँ बुवालाई अलिकति भए पनि काममा सघाउँछु । बुवाको छेउमा मात्र के पुगेको थिएँ बुवाको मुखबाट एक्कासी शब्द निस्कियो ‘तैँले केही काम गर्न पर्दैन, जा पढेर बस ।
बुवाको मनले सोच्दो हो छोरालाई काम लगायो भने पढाई बिग्रन्छ । तर मलाई भने बुवा सँगसँगै घर व्यवहार, खेतबारी र तरकारी सबैको काम गर्न मन लाग्छ । किनकि मलाई मेरो बुवाले गर्ने हरेक काम म आफैँ गरौँ जस्तो लाग्छ । मेरो बुवा जागिर खान कतै जानुहुन्न । उहाँले जागिर भने पनि वा मेरो सुन्दर भविष्यको कल्पना गर्ने आधार भने पनि एउटै कृषि हो । यो कुरा सुन्दा धेरैलाई लाग्न सक्छ कृषि गरेर पनि जीवन चल्छ र जिन्दगी चलाउन त जागिर खान पर्छ । तर जागिर नै नखाई हामी छोराछोरीको हरेक रहर पूरा गर्न सक्ने मेरो बुवाको कृषि कर्म मलाई असाध्यै मन पर्छ र त म पनि बुवासँग उहाँले गर्ने कृषिको काम सिक्न चाहन्छु । तर बुवालाई लाग्छ, मेरो छोराले हातले कुटो कोदालो हैन् कलम मात्र समातोस् ।
मेरो बुवा उमेरले ६४ वर्ष लाग्नुभयो । उहाँले खर्पनसँगै जीवन अघि बढाउन थालेको तीन दशकभन्दा बढी भइसक्यो । मेरो उमेरभन्दा झण्डै दोब्बर उमेरको यो कृषि अनुभवले पनि होला बुवालाई लाग्छ मेरो छोरोले कृषि चाहिँ नगरोस् ।
म आजकाल सुकिलो सर्ट पाइन्ट, कोट र टाई लगाएर कलेज बढ्छु । तर मेरो बुवाका लागि कलेज भने पनि स्कुल भने पनि आफ्नै खेत र माटो भयो । कोदाली र कापी कलम भए । आम्दानी प्रश्न थियो । अनि हरिया तरकारी उत्तर । यिनैको सहारामा मेरो बुवाले आफ्नो जीविकोपार्जन गर्नुभयो । आज मेरो बुबाले मलाई कोदाली र खोर्सिनुको साटो कापी र किताबको झोला थमाउनुभएको छ ।
थोरै मात्र सघाउँछु नि भन्दा पनि बुवालाई मेरो भविष्यको डर लाग्छ । उहाँको सपना छोरो म जस्तै कृषक नबनोस् । पढिलेखी कलम मात्र चलाएर जीवन चलाओस् भन्ने छ ।
बुवा आमाले पसिना बगाएको देख्दा मलाई पनि कोदाली खन्न मन लाग्छ । बुवा तपाईँ आराम गर्नुस् आज म खन्छु भनेर साथ दिन मन लाग्छ । तर मेरो बुवालाई सकेसम्म छोराको पाइला खेतमा नपरोस् भन्ने लाग्छ ।
बुवा भन्नुहुन्छ ‘हातमा ठेला र पसिना हैन बाबु प्रमाणपत्रले भरेस् ।मेरो बुवा बिहानको चिसो र भोक नभनी खट्नुहुन्छ । तर मलाई भने कामभन्दा बढी पढ भन्नुहुन्छ ।
आजकाल मेरो बुवाको मनमा तरकारी नफल्ला कि, किराले खाला कि, बजारमा नबिक्ला कि भन्दा पनि छोराले नपढ्ला कि भन्ने डर ठुलो छ । 
कहिले काहीँ त बुवालाई सघाउन नपाउँदा छटपटी हुन्छ । फुर्सदको समयमा अलिअलि काम गरेरै भए पनि पढ्न सक्छु जस्तो लाग्छ मलाई । तर मेरो बुवालाई त्यस्तो लाग्दैन ।
म अहिले दाङ तुलसीपुर मा बसेर बि.बि.एस पढ्दै छु । मेरो हातले भोलि बुवाले समातेकै कोदाली समात्छ या बुवाले चाहेजस्तै कलम निश्चित भइसकेको छैन । तर मनले भन्छ, अलिअलि मेरो बुवाजस्तै अनि अलि धेरै बुवाले चाहेजस्तै छोरो बन्नु पर्छ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार