२०८२ बैशाख ५ गते शनिवार

भविष्यको चिन्ताले डिप्रेसनको सिकार त भइरहेका छैन्न किशोरकिशोरी



रोशन क्षेत्री/ किशोर उमेर चञ्चल र बिन्दास हुन्छ । यो बेला गम्भीर विषयमा खास ध्यान जाँदैन, तर यही उमेर आफ्नो भविष्यको विषयमा सोच्ने सुरुवाती बिन्दु भने हो । किशोरकिशोरीले भविष्यको विषयमा सोच्नु सामान्य हो । तर जब भविष्यको सोचमा मात्रै धेरै मन जाँदा मानसिक तथा शारीरिक समस्या निम्तिन सक्छन् ।

एक अध्ययन अनुसार पछिल्लो समय किशोरकिशोरीहरु डिप्रेसनको बढ्दो जोखिममा परेको देखिएको छ । हार्वड मेडिकल स्कुलले गरेको एक अध्ययन रिपोर्टले यसको मुख्य कारण सामाजिक सञ्जालको बढ्दो प्रभाव रहेको उल्लेख गरेको छ ।

मनोविदहरुका अनुसार किशोरकिशोरीहरु जब भविष्यलाई लिएर बढी सोच्न थाल्छन्, तब त्यो चिन्तामा परिणत हुन्छ । जसले टाउको दुख्ने, शरीर दुख्ने, हरेक स–साना कुराको बारेमा ६ महिनासम्म लगातार विचार आइरहने जस्ता समस्या आउँछन् । यस्तो लक्षण देखिएमा यसलाई जेनरलाइजड एनजाइटी डिसअडर (जीएडी)को रुप लिन्छ । तर यो डिप्रेसन जस्तै देखिने लक्षण डिप्रेसन भने होइन । डिप्रेसन र जीएडी बीचको भिन्नता छ ।

डिप्रेसनको सिकार भएका व्यक्तिले कम्तिमा दुई हप्तासम्म धेरैजसो समय निराश महसुस गर्छ । डिप्रेसनबाट ग्रसित व्यक्ति विगतमा गरेका कामबाट चिन्तित हुन्छन्, विगतमा भएका गल्तीका लागि उनी आफैंलाई दोष दिन्छन् । मुख्यतया उनीहरुको ध्यान नकारात्मक कुरामा केन्द्रित हुन्छ ।

डिप्रेसन एक मुड डिसअर्डर हो । यसमा व्यक्ति मुख्यतया डिप्रेसन वा कतिपय अवस्थामा चिडचिडा हुने गर्छन् । लगातार खराब मुडको कारण व्यक्ति सामान्य दिनको तुलनामा कम ऊर्जावान् महसुस गर्न थाल्छ । उसले पहिले रमाइलो गर्ने चीजमा आनन्द पाउन संघर्ष गर्छ । आत्मविश्वास र एकाग्रता प्रमुख रूपमा घट्न थाल्छ ।

निन्द्रा र भोकमा पनि परिवर्तन आउँछ । उसले आफू र भविष्यप्रति नकारात्मक दृष्टिकोण राख्न थाल्छ ।

निराशा मात्र अनुभव गर्ने गम्भीर अवस्थामा व्यक्तिमा आत्महत्या गर्ने विचार हुन सक्छ किनभने उसलाई जीवनमा कुनै आशा देख्दैन ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार