२०८१ मङ्सिर १५ गते आइतवार

चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तालाबन्दी



२९,साउन,रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ३ दिनदेखि स्वास्थ्य केन्द्रमा ताला र काँडेबार लगाएर बन्द गरिएको छ। आधारभूत सेवाअन्तर्गत पर्ने स्वास्थ्य सेवा प्रवाह गरिरहेको एक स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिँदा तीन दिनदेखि बन्द अवस्था रहेको छ । चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गएको शुक्रवारदेखि तालाबन्दी गरिएको हो ।
स्वास्थ्य केन्द्र प्रमुख तिलक लामिछानेका अनुसार शुक्रवारदेखि नै कार्यालयमा ताला लगाउनुका साथै कार्यालय जाने बाटो बन्द गरिएको छ । कार्यालयको ढोकामा ताला, कार्यालय वरिपरि काँडा र तारबार लगाएर बन्द गरिएको लामिछानेले बताउनुभयो । शुक्रवार सार्वजनिक बिदा भएकोले कर्मचारी नआएका र आइतवार कार्यालय आउँदा बन्द देखिएपछि नगरपालिकामा खबर गरिएको स्वास्थ्य केन्द्र प्रमुख लामिछाने जनाउनुभयो । कार्यालयको गेटमा र मूल ढोकामा ताला लगाईएको छ ।
स्वास्थ्य केन्द्र बन्द भएपछि उपचारका लागि आएका बिरामीले सास्ती पाएका छन् । स्वास्थ्य केन्द्र बन्द भएको देखेपछि बिरामी बाध्य भएर चौरजहारी जान थालेका छन् । बिहानै आएका ज्वरो र रुघाखोकीका पाँच जना बिरामी फर्किएका स्थानीयवासीले बताएका छन् । स्वास्थ्य केन्द्रको तालाबन्दी खुलाउनका लागि वडा कार्यालयले पहल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार