२५ साउन,तुलसीपुर / दाङको तुलसीपुर–४ मा रहेको चमेरे गुफा ओझेलमा परेको छ । चारतले चमेरे गुफाको उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा हो । गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु सीमित मात्रामा आउने गरेको स्थानीय सीताराम पुनले बताउनुभयो ।
प्रचारप्रसार, संरक्षण र विकासमा राज्यले चासो नदेखाउँदा पर्यटकीय सम्भावना बोकेको गुफा ओझेलमा रहेको स्थानीयको गुनासो छ । गुफा पत्ता लागेको लामो समय बिते पनि संरक्षण र विकासमा सरोकारवालाले चासो नदिएको स्थानीयको भनाइ छ ।
गुफा संरक्षण समितिका अध्यक्ष भुपबहादुर पुनले गुफामा एक हजार वर्ष पुराना अभिलेख रहेको बताउनुभयो । १६ वर्ष अगाडि स्थानीयबासीको सक्रियतामा पहिलो पटक गुफाको अवलोकन र चिनारी गरिएको थियो ।
चिनारीसँगै २०५७ साल माघ १० गते तत्कालीन हलवार गाविसका केही व्यक्तिले गुफाको उद्घाटन गरी आन्तरिक पर्यटकका लागि गुफा अवलोकनको व्यवस्था मिलाएका थिए । तर राज्यले यसमा चासो नदिएको स्थानीयको गुनासो छ ।