२०८० असोज ८ गते सोमवार

गुरु जजुर विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष



१४ साउन, तुलसीपुर / दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो ।

विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५÷२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो ।

शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उहाँको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।

सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार