२०७९ मङ्सिर १० गते शनिवार

आगामी शैक्षिक सत्र जेठबाट,चालु शैक्षिक सत्र १० महिने




फाल्गुन २६
विद्यालय तहको चालु शैक्षिक सत्र १० महिना कायम गर्दै सरकारले आगामी शैक्षिक सत्र जेठबाट शुरु गर्ने निर्णय गरेको छ । कक्षा बढोत्तरीका लागि लिईने सबै कक्षाका परीक्षा र नतिजा प्रकाशनका काम बैशाख भरमा सक्ने र जेठ बाट नयाँ शैक्षिक सत्र कायम गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।

सामान्य अवस्थामा नयाँ शैक्षिक सत्र बैशाखबाट शुरु हुन्थ्यो । तर, कोरोना भाईरस कोभिड १९ का कारण चालु शैक्षिक सत्र गत असारबाट शुरु भएको थियो । कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण यो शैक्षिक सत्रमा पनि गत माघ महिना भर फेरी विद्यालयहरुको प्रत्यक्ष पठन पाठन बन्द गरिएको थियो ।

चालु शैक्षिक सत्रको पठनपाठन र आगामी शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्ना एवं पठन पाठन सम्बन्धमा गत मंगलबार मन्त्रालयले गरेको निर्णय अनुसार यो बर्ष चैत मसान्त सम्म नियमित पठन पाठन हुने छ । कक्षा १० सम्मका सबै परीक्षा बैशाखमा मात्र गर्नु पर्ने छ । कक्षा १० का अन्तिममा लिईने एसईई परीक्षा बैशाख ९ गते देखि सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यस अघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
स्थानीय तहले लिने कक्षा ८ बो परीक्षा पनि २०७९ बैशाखको अनुकुल समयमा गर्ने गरी निर्णय भएको छ । २०७९ चैत मसान्त भित्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवं परीक्षा र मूल्याँकनका कार्यहरु सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा बार्षिक शैक्षिक कार्यतालिका तय गर्नु पर्ने छ ।

विद्यालयहरुले पठन पाठन गर्दा कोभिड १९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको गत माघ २३ गतेको सिफारिस अनुसार गर्ने व्यवस्था मिलाउन भनिएको छ । शैक्षिक सत्र सम्बन्धि सबै कार्यहरु जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइले आवश्यक समन्वय र सहजिकरण गर्ने गरी कार्य गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सम्बन्धित निकायहरुमा परिपत्र गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार