२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश पदाधिकारीको सङ्ख्या नौ पुर्‍याउने माओवादी स्थायि समितिको निर्णय



मङ्सिर २३।
नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको सङ्ख्या बढाउने भएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या नौ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष एक जना, उपाध्यक्ष तीन जना, सचिव एक जना, सहसचिव तीन जना र कोषाध्यक्ष एक जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
त्यस्तै बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरूलाई मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रवक्ता महराले भने, ‘केन्द्रीय सदस्यहरू स्वेच्छाले कोही तल प्रदेशमा जान चाहन्छन् भने उनको इच्छाको कुरा भयो । तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरू तल जानका लागि बल नगर्ने ।’

त्यस्तै बैठकले प्रदेश कमिटीको सदस्य सङ्ख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, वाग्मती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार