
धर्मेन्द्र झा
कसैलाई केको चिन्ता, कसैलाई केको चिन्ता … कन्टिर–बाबूलाई सबैको चिन्ता ! तर आज कन्टिर–बाबू चिन्तितमात्र होइन, गम्भीर पनि छन् । गम्भीरसँगसँगै विस्मितसमेत छन् ।
कारण पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको विधान र आचारसंहितामा जब–जब सार्वजनिक प्रश्न उठ्ने अवस्था बन्छ वा कसैले औँला तेस्र्याउँछ, तब–तब कन्टिर–बाबू एकसाथ चिन्तित, गम्भीर र विस्मित हुने गर्छन् । पत्रकार महासङ्घमा उनका लङ्गौटिया यार र सँगै भाँडाकुटी खेलेका यारनीहरू धेरै भएकाले पनि कन्टिर–बाबूको त्यस्तो अवस्था तथा मनोदशा हुनु अस्वाभाविक होइन ।
यतिबेला कन्टिर–बाबू देख्दै छन्– जसै–जसै देशका दुई ठुला पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमालेको महाधिवेशन तथा चुनावको रन्को बढ्दै छ, उसै–उसै नेपाली पत्रकारहरूमा चुनावी चटारोको तापमान पनि बढ्दो छ ।
तर यो रन्को र तापको बढोत्तरी हुँदै जाँदा कतै नेपाल पत्रकार महासङ्घको विधानको परिच्छेद ८ अन्तर्गत अनुशासन र कारबाही शीर्षक उल्ल्खिित दफा ३२ को उपदफा क र ख भने डढेर खरानी हुने हो कि भन्ने पिरलो कन्टिर–बाबूलाई परेको छ र उनी चिन्तितसँगै गम्भीर बनेका हुन् ।
अरे यार, नेपाल पत्रकार महासङ्घको विधानमा स्पष्ट लेखेकै छ त– महासङ्घको विधान तथा अनुशासनको पालना गर्नु महासङ्घका हरेक सदस्य तथा समिति र संस्थागत सदस्य संस्थाको कर्तव्य हुनेछ । महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ–सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा काम गर्न पाउने छैनन् ।
यही कुरा ‘कोट’ गर्दै कन्टिर–बाबूले नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको चुनाव लडिरहेका एक जना भाइ–साथीलाई सोधे– अरे यार, के गरेको यस्तो, आफैँ जिम्मेवार पदमा भएर ?
उनको जबाफ थियो– अरे कन्टिर–दाजु ! तपाई महासङ्घको विधान एक पटक फेरि राम्ररी पढ्नुस् । तपाईले कोट गरेको धारामा के लेखेको छ ? त्यहाँ ‘कुनै राजनीतिक दलको कुनै विभाग वा समितिमा काम गर्न पाउने छैन’ भनेको छ, चुनावै लड्न पाउने छैन भनेको त छैन नि ! अहिले हामीले महासङ्घको विधान मिच्ने काम के गरेको छ र ! केवल चुनाव लडेको न हो । लागे लाग मोहनी नलागे मेरो साथी घरैमा छ भने जस्तो जितियो भने ठिकै छ, हारियो भने पनि ठिकै छ ।
ले घाँस ! ती भाइ–साथीको धाराप्रवाह जबाफ सुनेर कन्टिर–बाबू अहिलेसम्म ट्वाँ परिरहेका छन् । तर गर्नका लागि उनले तर्क जे गरे पनि उनको कुराले कन्टिर–बाबूको चित्त भने बुझेको छैन ।
यतिमात्र होइन पत्रकारहरू स्वयम् राजनीतिक दलको आन्तरिक चुनावमा उम्मेदवार भएको बारे एकै बिरादरीका भएका नाताले होला कन्टिर–बाबूलाई समाजका विभिन्न तप्काबाट एकपछि अर्को प्रश्न इन–बक्स भइरहेका छन् । तर कन्टिर–बाबू भने नाजबाफ छन् ।
विचरा भनुन् पनि के ? मित्रहरू लोकतान्त्रिक प्रक्रियामा सहभागी छन्, चुनाव लड्ने कुरालाई ठाडै अनुचित भन्नु पनि भएन । तर कन्टिर–बाबूलाई लाग्छ– यसरी कुनै खास पार्टीको कार्यकर्ता बनेर आन्तरिक पदको चुनावमा होमिने कुरा सोझै पक्षधरता देखिने कुरा हो, जसलाई स्वतन्त्र प्रेसका दृष्टिले कदापि उचित मान्न सकिन्न ।
लु भैगो, दलीय आस्थाका आधारमा खुलेका प्रेस सङ्गठनमा मात्र आबद्धहरूका हकमा एउटा धारणा बनाउन सकिएला । तर पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घको केन्द्रदेखि जिल्ला तहसम्मका कार्यसमितिमा बसेका पदाधिकारीको नाम दलीय उम्मेदवारी सूचीमा देखिनुलाई कन्टिर–बाबूले पूर्णतः अनुचित मानेका छन् ।
साझा चरित्रको सङ्गठनमा नेतृत्वदायी भूमिकामा रहेकाहरूले राजनीतिक दलभित्र उम्मेदवारी दिँदा तीबाट स्वतन्त्र प्रेसका हकमा काम होला भनेर कसरी सोच्ने ? लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती कन्टिर–बाबू आज बिहानैदेखि यही सोची–सोची विस्मित बनेका छन् । (सभार: कोशी अनलाइन )