२०८० असोज ८ गते सोमवार

भारतको औपचारिक भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानसेनापति शर्मा




कार्तिक २६।


प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमण सकेर आज (शुक्रबार) स्वदेश फर्किँदै छन् ।

प्रधानसेनापतिका रूपमा पहिलो औपचारिक विदेश भ्रमणमा रहेका शर्मा आज फर्किने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नौ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँदिल्ली गएका प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्ज्यानी प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बुुधबार एक समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी प्रदान गरे ।

नेपाल–भारत दुवै देशका प्रधासेनापतिलाई एक–अर्का देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन छ ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति शर्माले रक्षामन्त्री राजनाथ सिंह, विदेश मामिलामन्त्री एस जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् । भेटपछि जयशङ्करले सामाजिक सञ्जालमा ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ’ लेखेका छन् ।

शर्माले दिल्लीको नेसनल डिफेन्स कलेजको पनि भ्रमण गरेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसक्रममा उनलाई कलेजको ‘वाल अफ अनर’ मा फोटो राखेर सम्मान गरिएको सेनाले जनाएको छ ।

यसरी सम्मान पाउने उनी पहिलो व्यक्ति भएको नेपाली सेनाले जनाएको छ । ‘यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने पूर्वविद्यार्थीलाई मात्र दिइन्छ’ विज्ञप्तिमा उल्लेख छ । शर्माले सन् २०१३ मा त्यस कलेजबाट नेसनल डिफेन्स कोर्स गरेका थिए ।

भारतीय स्थल सेनाध्यक्ष एनएन नरवणेको औपचारिक निमन्त्रणा स्वीकार गर्दै प्रधानसेनापति शर्मा गत मङ्गलबार नयाँदिल्ली गएका हुन् ।
सन् १९५० मा भारतीय सेनाका प्रथम कमान्डर इन चिफ् के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार