२०८० चैत्र १६ गते शुक्रवार

आज भाइ टीका:उत्तम साईत ११.०२ बजे



कार्तिक २०
तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।

यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान गर्ने परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । तिहारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबीच काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुलेको छ । बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २० गते शनिवार