२०८० जेष्ठ २७ गते शनिवार

बजार र पर्व



एम.एस.भुसाल

माया, प्रेम, चाड, पर्व सबै सबै आज बजारको नियन्त्रणमा छन् । बजारले के गर्ने, कसो गर्ने, कति गर्ने, कसरि प्रस्तुत हुने भन्ने जस्ता कुराका मानक बनाईदिएको छ । मानक निर्माणमा भुमिका खेलिरहेका छन् फेसबुक, ईन्स्टाग्राम, विभिन्न अनलाईनमा देखिने विज्ञापन र फेसन ट्रेन्ड हरु ।

ट्रेन्ड फलो र फेसनका नाममा फ्रुसा पुँजीवादी प्रोपोगान्डाका पछाडि दौडिदा दौडिदै हामी आफै उपभोक्ताबादको आहार भएका छौ, आहार भएका छन् हाम्रा चाड, पर्व, आहार भएको छ हाम्रो संस्कृति ।

आर्थिक पाटो:

वर्तमानको समाज पुजिवादी समाज हो । समाजका संस्कृति, राजनिती जस्ता उपरि संरचना मुलत: अर्थव्यवस्थामा आधारित हुन्छन् । अर्थव्यवस्था संस्कृतिलाई आफु अनुकुल परिवर्तन गर्न प्रयासरत रहन्छ । उदारिकरण, निजीकरण र विश्वव्यापिकरण बोकेर नवउदारवाद दौडिरहेको छ । यसले चाड-पर्वहरुलाई आफु अनुकुल बनाउदै लैजादै छ । विश्वव्यापिकरणको प्रभावले सानो अर्थतन्त्र भएका मुलुक ठुलो अर्थतन्त्र भएका मुलुक अगि खुम्चिदै जान्छन् र अन्तिमा उठ्नै नसक्ने गरि थला पर्छन् । उन्नत प्रविधि, खरिद गरिएको सस्तो श्रम र तथ्यभन्दा टाढाका रङ्गीचङ्गी विज्ञानपनसङ्गै ती उत्पादनहरु कम विकसित मुलुकहरुमा प्रवेश पाउछन् । कुनै पनि मालले निश्चित भुगोलको अर्थव्यवस्थामा टिकिरहन त्यहाँका रैथाने उत्पादनहरुलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । विज्ञापन बजार माथी उनीहरुकै हालिमुहाली हुन्छ, रङ्गीचङ्गी बिज्ञापन सहित बिस्तारै हाम्रो मानसपटलमा घन्किन थाल्छन् । कतिलाई हामीले ट्रेन्डको रुपमा पिछा गर्न थाल्छौ, कतिले वस्तुको स्वामित्वलाई अार्थिक स्थितीको मानको रुपमा स्विकार्दै अङ्गाल्न थाल्छौ । अन्तत: यहाँका रैथाने पर्वहरु संस्कृतिहरु पनि बाहिरि मुलुकका उत्पादन बिना पुर्ण नै हुन नसक्ने स्थितीमा आईपुग्छन्, नामका मात्र हाम्रा हुन्छन् ।

कतिपय मानिसहरु कुनै सामान बोक्दा, लगाउदा ( जुन प्राय विज्ञापनमा आईरहने, महङ्गो, आयातित हुन्छन् ), त्यो सामानले समाजमा आफ्नो प्रतिष्ठा बढाउछ भन्ने भ्रममा उपभोक्तावादको सिकार बन्छन् । वस्तुको उपयोगिता ( कति आवश्यक, कति अनावश्यक, कति स्वस्थकर,कति हानिकारक ) भन्दा माथी ट्रेन्डमा देखिएका वस्तुको स्वामित्वलाई स्थान दिनु र आर्थिक हैसियतको मानकका रुपमा बुझ्नु नै उपभोक्तावादको सिकार हुनु हो ।

हाम्रो समाज :
उपभोक्तावादी प्रवृतिको बिकास भएसङ्गै हामी रैथाने भन्दा बाहिरबाट आएका सामानहरु प्रति लालायित हुदै जान्छौ, उपभोग गर्दै जान्छौ, निर्भर हुदै जान्छौ । हाम्रो संस्कृति, हाम्रो जिवनशैली, हाम्रो दैनिकीका लागि विदेशमा उत्पादन हुने सामाग्री अपरिहार्य बन्दै जान्छन् । यहाँको रैथाने अर्थव्यवस्था खुम्चदै जान्छ, अन्तत: टाट पल्टिन्छ । हामीले उपभोग गर्ने सामानहरु माथी अरुकै पकड रहनुका कारण, सिङ्गो अर्थव्यवस्था उनीहरुकै नियन्त्रणमा रहन पुग्छ । अर्थव्यवस्था नै अरुको नियन्त्रणमा भएपछि राजनिती, कुटनिती जस्ता चिजको साचो पनि बाहिरबाट प्रभावित हुन्छ ।

समाजमा बजारवादको प्रवेशसङ्गै सामाजिक मानविय हार्दिकताको ठाउ आर्थिक मापकहरुले लिदै जान्छन् । मानविय हारदिकताका लागि आवश्यक चिज भन्दा आर्थिक सामाग्रीहरुको स्वामित्व हुनु प्राथमिक ठानिदै जान्छ । यसरि बजारवादले विस्तारै मानव कल्याणको विचारलाई बजारमुखी नाफाखोरी विचारले स्थानान्तरण गर्दै लैजान्छ । फलस्वरुप: समाजको मानिस के कति फाईदाजनक, के कति आवश्यक, के कति स्वस्थकर भन्ने ठाउमा कुन कति महङ्गो, कुन कति विदेशबाट आएको भन्नेलाई प्रथामिकता दिदै जान्छ । उदाहरणका लागी : अचेल जन्मदिन बनाउने चलन फेसन जस्तै भएको छ । यसको मनाउने सस्कृति हुवहु पश्चिमी संस्कृति र अर्थव्यवस्था अनुकुल छ । दशै भेटघाट र आपसि मिलनको पर्वभन्दा पनि कस्ले कत्रो खसी काट्ने र कस्ले कस्तो कपडा लगाउने, कति दक्षिणा दिने भन्ने बिच नै घुमिरहेको छ । तिहारको बजारमा पाईने झिलिमिलि भन्दा दियोको बत्तिले नै पनि झन् सुन्दर र उज्यालो घर बनाउन सकिन्छ, तर त्यहाँ पनि बजार छिरेको छ । लिने ले पनि अनि दिनेले पनि कात्तिके दान भन्दा पनि आर्थिक हैसियतका रुपमा दक्षिणालाई हेर्ने आम दृष्टिकोण छ । हामी घरमा आउने आफन्तलाई मही र दुधको सट्टा कोक-स्प्राईट , मकै भटमासको ठाउमा चाउचाउ चाउमिन सुम्पिन्नु लाई महत्व दिन्छौ । यसरी एक त हाम्रो समाज आर्थिक रुपले आश्रित बन्दै गएको छ अर्को त हाम्रो संस्कृति‌ हाम्रो मौलकता भन्दा भिन्दै अरुनै बन्दै छ । बजारमा भेटिने वस्तु सुन्दर र सृङ्गागरिक त हुन्छन्, तर के त्यी साचिकै‌ स्वस्थर छन् त सोच्न छाडिसकेका छौ ।
निष्कर्ष :
दशै त्यस्तै रैथाने अर्थव्यवस्थामा आधारित सांस्कृतिक पर्व थियो । कालान्तरमा धार्मिक र आन्तरिक उपनिवेशसङ्गै बडा दशै, विजया दशमीका रुपमा विकसित हुदै गयो, ईश्वरवादको ओकालत गर्ने धार्मिक पर्वको रुपमा रुपान्तरित हुदै गयो । उपभोक्तावादी समाजको निर्माण हुदैजादा अहिले त्यहि दशै उपभोक्तावादी महोत्सव जस्तै हुदै गएको छ, बजारमुखी संस्कृतिको रुपमा बिकसित हुदै छ । दशै जस्ता अरु धेरै पर्वहरुलाई धर्मवाद र बजारवाद रहित सास्कृतिक पर्वमा रुपमा जोगाईराख्नु सम्पुर्ण प्रगतिशीलहरुको जिम्मेवारी हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार