२०८० चैत्र १५ गते बिहिवार

एमाले महाधिवेशनका लागि चितवनलाई किन रोजे ओलि ले?



४ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेशको कार्यक्रममा महाधिवेशनको आयोजनास्थलबारे महत्वपूर्ण अभिव्यक्ति दिए । बुटवलमा गर्ने प्रस्ताव आएको भन्दै त्यहाँ नहुने संकेत गरे । उनले यसो भनिरहँदा महाधिवेशन स्थल कुन हुने चासो बढेको थियो ।
आज एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको स्थल समेत तय गरेको छ । महाधिवेशन चितवनमा हुने भएको छ । १०औं महाधिवेशन चितवनमा गर्ने ओलीकै चाहना हो ।
चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । प्रचण्डलाई चितवनमा चुनौती बढाउने ओलीको रणनीति मात्र नभएर प्रतिज्ञा नै रहेको सन्देशहरु प्रवाह भइरहेका छन् ।
यसअघि प्रचण्ड स्वयंले ओलीमाथि आफ्नो चुनावी क्षेत्र चितवनको माडी क्षेत्रमा राम मन्दिर बनाउने जस्ता कार्य गरेको विषय उठाएका थिए । उनले ओलीमाथि आफूलाई असजिलो पार्ने अनेकन गतिविधि गरेको आरोप लगाएका थिए । हुनपनि ओलीले चितवनमा प्रचण्डमाथि चुनौती थपिदिएका छन् ।
चितवनमा एमालेको महाधिवेशन आयोजना गरेर ओलीले प्रचण्डलाई चुनौती बढ्न गरी शक्ति प्रदर्शन गर्न खोजेका छन् । उनले प्रचण्डले राजनीतिक भूगोल बनाएको चितवनलाई महाधिवेशनको आयोजना स्थल रोजेर उनको पकड कमजोर बनाउने रणनीति समेत बनाएको बुझ्न सकिन्छ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार