
असोज ३०।
रुकुम पश्चिमको मुसिकोट–१ बागबजार नजिकै छेउमा मदिराबखाएका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको छ । झडपमा परि प्रहरी सहायक निरीक्षक (असई) कोमलराज बोहरा घाइते भएका हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।
युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहरा, प्रहरी जवान लक्ष्मण गुरुङ र अन्य चार जना प्रहरी जवान समान्य घाइते भएका छन् ।
सो घटनापछि प्रहरीले ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका –५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट– १० का २४ वर्षीय खडानन्द केसी, मुसिकोट–१ का २५ वर्षीय हरिबहादुर घर्ती, पश्चिम मुसिकोट नगरपालिका– ५ का २० वर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी र सोही ठाउँका २० वर्षीय आकाश परियार छन् ।
घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल विक भने फरार रहेको प्रहरीले जनाएको छ ।